काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको भेटवार्ता बिना निष्कर्ष टुंगिएको छ ।
आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा नेकपा कर्णाली प्रदेशमा देखिएको विवाद समाधानबारे छलफल भए पनि निकर्षमा नपुगेको अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा जुगलले जानकारी दिए ।
अध्यक्षद्वय अोली र प्रचण्डले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, पार्टी सहइन्चार्ज यमलाल कँडेलसहित नेताहरुलाई बालुवाटारमा बोलाएर उनीहरुका कुरा सुनेका थिए ।
दुवै पक्षका आ–आफ्ना अडान सुनिसकेपछि अध्यक्षद्वय ओली र प्रचण्डले पुनः छलफल गर्ने सहमतिमा बैठक सकिएको जानकारी दिए । भेटका क्रममा प्रधानमन्त्री ओलीले दुवै अध्यक्षले गरेको संयुक्त निर्णयलाई मान्नुपर्ने बताएका थिए ।
‘कँडेल पक्षले मुख्यमन्त्रीविरुद्ध दर्ता गरेको अविश्वासको प्रस्ताव फिर्ता नलिने अडान लिनुभयो’, स्रोतले भन्यो, ‘उहाँहरुका कुरा सुनेपछि प्रधानमन्त्रीज्यूले अध्यक्षद्वयले गरेको निर्णय नै अन्तिम हुने बताएपछि आजको बैठक सकियो । पुन बैठक बसेर विवाद समाधान गर्ने सहमति भएको छ ।’
कँडेलसहित १८ जना सांसदहरुले मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेपछि चर्किएको नेकपा कर्णालीको विवाद केन्द्रसम्म आइपुगेको हो ।




प्रतिक्रिया