काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयका फरक–फरक धारणा सार्वजनिक भएका छन् ।
प्रधानमन्त्रीका प्रेस संयोजक सूर्य थापा र प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा जुगलले फरक–फरक प्रेस नोट सार्वजनिक गरेका हुन् ।
आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्षद्वय ओली र प्रचण्डबीच भएको भेटघाटमा कर्णाली प्रदेशको बिषयमा छलफल भएको थियो ।
अध्यक्ष प्रचण्डको सचिवालयले उक्त छलफलमा अविश्वासको प्रस्ताव फिर्ता लिने वा खारेज गर्ने र प्रमुख सचेतक सम्बन्धी बिषय पनि प्रदेश पार्टी कमिटी र प्रदेश सरकारले नै समाधान गर्न सुझाव दिने समझदारी भएको हो र यसबारे कुनै भ्रममा नपर्न आग्रह गरेका छन् ।
यता प्रधानमन्त्रीको सचिवालयले चार बुँदे सहमति भएको बताएको छ । प्रेस संयोजक थापाले कर्णाली प्रदेश संसदीय दलका प्रमुख सचेतक गुलाबजंग शाहलाई मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले हटाउने निर्णय बदर गरेको बताएका छन् ।
‘प्रमुख सचेतकमा उहाँद्वारा नियुक्त सीता नेपालीको निर्णय बदर गरी पूर्ववत् रूपमा सचेतकमा कायम गर्ने’, उनले भनेका छन्, ‘मुख्यमन्त्रीविरूद्ध दर्ता भएको अविश्वास प्रस्ताव फिर्ता लिने र अन्य विषयहरूमा सल्लाह र समझदारीका साथ आवश्यक निर्णय लिने ।’




प्रतिक्रिया