सभामुखमा ओली र प्रचण्डबीच जुटेन सहमति, संसद बैठक स्थगित

सभामुखमा ओली र प्रचण्डबीच जुटेन सहमति, संसद बैठक स्थगित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीचको वार्ता सकिएको छ । सभामुखबारे छलफल गर्न बसेको करिब २ घण्टा लामो छलफल बिना निष्कर्ष टुंगिएको हो ।

सभामुखको विषयमा सामान्य कुराकानी भए पनि दुई अध्यक्ष निष्कर्षमा पुग्न सकेनन् ।

गत असोजदेखि रिक्त रहेको सभामुख चयनको विषयमा नेकपा निष्कर्षमा पुग्न सकेको छैन । सभामुखमा सहमति नभएपछि भोली पुस १६ गतेका लागि बोलाइएको संसद बैठक स्थगित भएको छ । बैठक ११ दिन पछि सारेर प्रतिनिधिसभाको अर्को बैठक यही पुस २७ गते अपराह्न १ बजेका लागि बोलाइएको छ ।

ओली र अर्का प्रचण्डले सभामुखका लागि छुट्टाछुट्टै उम्मेद्वार अघि सारेका छन् । ओली पूर्वसभामुख समेत रहेका सुवास नेम्वाङलाई सभामुख बनाउने पक्षमा छन् भने प्रचण्ड अग्नि सापकोटालाई सभामुख बनाउने पक्षमा रहेका छन् ।

त्यस्तै राष्ट्रपति विद्यादेवी भण्डारीले उपसभामुख डा शिवमाया तुम्बाहाम्फेलाई सभामुख बनाउँदा उपयुक्त हुने सुझाव दिएकी छन् । पूर्व माओवादीका नेताहरुले पार्टी एकता पहिले आफूहरुको भागमा सभामुख परेकाले अहिले पनि आफूहरुले नै सभामुख पाउनुपर्ने माग राख्दै आइरहेका छन् ।

बलात्कारकारको आरोपमा तत्कालिन सभामुख कृष्णबहादुर महरा पक्राउ परेपछि सभामुख पद रिक्त छ । उपसभामुख तुम्बाहाम्फे आफू सभामुख बन्नुपर्ने अडानमा छिन् । नेकपामा सभामुखबारे अन्यौलता कामयमै छ ।

उता सातै प्रदेशका उपसभामुखहरुले तुम्बाहाम्फेलाई सभामुख बनाउनुपर्ने बताएका छन् । सभामुखमा सुवास नेम्वाङको जतिको क्षमता तुम्बाहाम्फेमा पनि भएकाले उनै सभामुख बन्नुपर्ने अड्डी कसेका हुन् ।