स्थायी कमिटी बैठक अन्यौलमा, महासचिवसहित दुवै अध्यक्ष छलफलमा जुटे

स्थायी कमिटी बैठक अन्यौलमा, महासचिवसहित दुवै अध्यक्ष छलफलमा जुटे


काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा पुनः छलफल सुरु भएको छ ।

बुधबार दिउँसो १ बजेका लागि स्थायी कमिटी बैठक बोलाइएको भए पनि प्रधानमन्त्री ओली अनुपस्थित भएपछि दुई अध्यक्ष पुनः छलफलमा जुटेका हुन् । प्रधानमन्त्री ओली अनुपस्थित भएपछि स्थायी कमिटी बैठक अन्यौलमा परेको छ ।

प्रधानमन्त्री ओली बैठकमा नआएपछि कार्यकारी अध्यक्ष प्रचण्ड महासचिव विष्णु पौडेललाई लिएर प्रधानमन्त्री ओलीसँग छलफल गर्न गएका हुन् ।

एजेण्डाबारे चित्त नबुझेपछि प्रधानमन्त्री ओलीले बैठकमा नआउने बताएका थिए । अध्यक्ष प्रचण्डले गत कात्तिक २८ गते सचिवालय बैठकमा पेश भएको राजनीतिक प्रतिवेदनमाथि छलफल गर्ने बताएपछि प्रधानमन्त्री ओलीले बैठकमा उपस्थित नहुने भएका जानकारी दिएका थिए ।