काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । शुक्रबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुवै अध्यक्षबीच भेटवार्ता भएको हो ।
पछिल्लो समय पार्टीभित्र देखा परेको आन्तरिक समस्याबारे छलफल भएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा जुगलले जानकारी दिए ।
उनले छलफलबाट कुनै समाधान निस्किन नसकेको बताए । दुवै अध्यक्षबीच छलफललाई निरन्तरता दिँदै सहमतिको प्रयास जारी रहने उनले बताए ।
प्रधानमन्त्री अोलीले गत मंगलबार संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याएपछि चर्किएको पार्टीभित्रको विवाद मिलाउन दुवै अध्यक्षबीच छलफल जारी छ ।
बिहीबार पनि दुवै अध्यक्षबीच बालुवाटारमा भेटवार्ता भएको थियो । बुधबारको स्थायी कमिटी बैठकमा प्रधानमन्त्री अोलीले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता गर्ने बताएका थिए ।




प्रतिक्रिया