काठमाण्डु – तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष थिए– केपी शर्मा अोली र पुष्पकमल दाहाल प्रचण्ड । नेकपा एमाले र माअोवादी केन्द्रबीच एकता हुँदा दुई जना अध्यक्ष हुने र आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भयो ।
ओलीले साढे दुई वर्ष र प्रचण्डले त्यसपछि साढे दुई वर्ष सरकारको नेतृत्व गर्ने सहमतिअनुरुप नै एमाले र माअोवादी केन्द्रबीच पार्टी एकता भएको थियो । तर, सरकारको नेतृत्व गरेको साढे दुई वर्ष भए पनि उक्त सहमति कार्यान्वयन भएन । प्रचण्डले ‘तपाई पाँच वर्ष सरकार चलाउनूस्, म पार्टीको नेतृत्व गर्छु’ भनेपछि प्रधानमन्त्री ओली प्रचण्डलाई कार्यकारी दिएर सरकारको नेतृत्व गर्न सहमत देखिए । तर, कार्यान्वयन गरेनन् ।
प्रधानमन्त्री ओलीले आफूलाई कार्यकारी अध्यक्षको जिम्मेवारी नदिएको भन्दै प्रचण्ड उनीसँग रुष्ट बने । प्रचण्डले वरिष्ठ नेता माधव नेपालसँग मिलेर प्रधानमन्त्रीविरुद्ध मोर्चाबन्दी कस्न थाले । नेता नेपालले प्रचण्डलाई साथ दिए । दुई अध्यक्षबीचको विवादले पार्टीभित्र उग्र रुप लियो । पार्टीभित्र विवाद चर्किन थालेपछि प्रधानमन्त्री अोलीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरे ।
पहिलेदेखि नै प्रधानमन्त्रीको कदमका विरुद्धमा जागरुक बन्दै आएका प्रचण्ड संसद विघटनको विरोधमा सडक संघर्ष गर्न तयार भए । उनले संसद विघटन असंवैधानिक कदम भन्दै माधव नेपाल समूहसँग मिलेर सडक संघर्ष चर्काए । सार्वजनिक कार्यक्रमहरुमा खरो रुपमा उत्रिएका प्रचण्डले प्रधानमन्त्रीविरुद्ध भन्न बाँकी केही पनि राखेनन् । प्रधानमन्त्रीको हालत पनि उही भयो । दुवै नेताहरु एकअर्काका पोल खोल्नमा व्यस्त रहे ।
सुन्नेहरुलाई लाग्थ्यो–ओली र प्रचण्डबीच राजनीतिकसँगै व्यक्तिगत सम्बन्ध पनि सकियो । तर, आम नागरिकले सोचेजस्तो सम्बन्ध उनीहरुबीच छैन् । सर्वोच्च अदालतको फागुन २३ गतेको फैसलाले नेकपालाई दुई टुक्रा बनाए पनि दुई अध्यक्षबीच भने व्यक्तिगत रुपमा राम्रो सम्बन्ध रहेको स्वंय प्रचण्डले खुलाए । उनले प्रधानमन्त्री र आफुबीच बेलाबेलामा फोन सम्पर्क भइरहने एक अन्तर्वार्तामा बताए । अध्यक्ष प्रचण्डकाअनुसार बिरामी भएकी आफ्नी पत्नी सीताको स्वास्थ्यबारे जानकारी लिइरहन्छन् प्रधानमन्त्री ओली ।
उनले समस्या व्यक्तिमा भन्दा पनि विचार, प्रवृति, राष्ट्र, जनताको हितका विषयमा रहेको बताए । प्रचण्डले विचार, प्रवृति, राष्ट्र, जनताका विषयमा प्रधानमन्त्री अोली उल्टो प्रवृतिको रहेको आरोप पनि लगाए ।
अध्यक्ष प्रचण्डले भने, ‘मेरो मेडम अस्पतालमा छन् । केपीजीले सबैभन्दा पहिला फोन गर्नुभयो । सीताजीको स्वास्थ्य कस्तो छ ? मेरो शुभकामना छिटो स्वास्थ्य लाभको लागि भन्नुहुन्छ मीठोसँग । यस्ता कुरामा हामी गरिराख्छौं । कुरै नगर्ने पनि होइन ।’
प्रधानमन्त्री ओलीले यसअघि प्रचण्डलाई फोन गरेर बालुवाटार बोलाएका थिए । प्रचण्डले पछिल्ला विकसित राजनीतिक घटनाबारे छलफल गर्न आफूलाई प्रधानमन्त्रले बालुवाटार बोलाएको बताएका थिए ।
‘म यहाँ बस्दै गर्दा प्रधानमन्त्रीको धेरै फोन आयो मलाई धेरै समयपछि म एउटा गाउँपालिका भवन उद्घाटन गर्न जाँदैछु, तपाईंले के भन्न खोज्नुभएको हो, म एउटा कार्यक्रममा छु भनेँ । आज भेट्दा यहाँको बाटो बनाइदिनुस्, ठूलो काम हुन्छ भन्नेवाला छु’, ललितपुरको एक कार्यक्रममा पुगेका प्रचण्डले भनेका थिए ।




प्रतिक्रिया