काठमाण्डु – सेयर बजार परिसूचक नेप्सेको बिषय पेचिलो बनेको छ । यो बिषय अहिले राजनीतिक बहसको बिषय बनेको छ । नेप्सेलाई लिएर दुई ठुला पार्टीका नेताहरुको अभिव्यक्ति यतिबेला चर्चामा छ । निरन्तर ओरालो लागेको सेयर बजारको बिषयले राजनीतिक स्थान पाउँदा सेयर लगानीकर्ता भने उत्साहित देखिएका छन् ।
नेकपा हुँदा साथमा रहेका केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्ति अहिले चर्चामा छ । कुनै समय एउटै प्लेनका दुई पाइलट बताउने नेताहरु अहिले एकले अर्कालाई उछितो काढ्ने अवस्थामा पुगेका छन् । प्रायः कार्यक्रमहरुमा दुवै नेताले एकअर्काको आरोप प्रत्यारोपमै समय खर्चिने गरेका छन् । अहिले प्रचण्डले सेयर बजारबारे दिएको अभिव्यक्तिमा ओलीले जवाफ फर्काएपछि यो बिषय थप पेचिलो बनेको हो ।
शनिबार माओवादी केन्द्रको सबै प्रदेशको प्रदेश सम्मेलनलाई काठमाडौंबाट एकैसाथ उद्घाटन गर्दै अध्यक्ष दाहालले पछिल्लो समय पुँजीको लगानी उद्योग र उत्पादनका क्षेत्रमा हुन छाडेर पुँजी बजारमा लगानी हुनु साम्राज्यवादको विकसित रूप भएको बताएका थिए ।
‘पुँजीको लगानी पुँजीमा हुनु साम्राज्यवादको विकसित हुनु हो । उद्योग र उत्पादन क्षेत्रमा पुँजीको लगानी नहुनु नै वित्तीय पुँजीवादको विशेषता भएको छ । अहिले धितोपत्र बोर्ड, सत्ता बजार, आइएमएफ, विश्व बैंक, एसियाली बैंक लगायतमा लगानी हुन्छ। हामीले यी बैंकले पैसा जम्मा गरेर यता उता लगानी गर्दछन् भन्ने गरेका छौं,’ अध्यक्ष प्रचण्डले भनेका थिए,‘तर, त्यस्तो होइन। यसरी शेयर बजारमा लगानी गर्नु साम्राज्यवादका विकसित रूप हुन् । यसरी वित्तीय एकाधिकार पुँजीवादलाई बलियो बनाएर अगाडि बढाउने नाफा उठाएर विश्वका सीमित पुँजीपतिहरूको हातमा संसारकै धन एक कठ्ठा गर्ने योजना हो ।’
प्रचण्डको उक्त अधिव्यक्तिपछि उनका आफ्नै नजिकका लगानीकर्ता रुष्ट बनेका छन् । प्रचण्डको उक्त अभिव्यक्तिपछि सेयर बजार निरन्तर ओरालो लागेको अनुमान गरिएको छ । यता ओलीले भने प्रचण्डको अभिव्यक्तिको जवाफ फर्काएका छन् ।
एमालेका मानोनित केन्द्रीय सदस्यहरुलाई सपथ दिलाउने कार्यक्रममा बुधवार बोल्दै अध्यक्ष ओलीले सेयर कारोबारीले चन्दा नदिएको रिसमा प्रचण्डले उक्त अभिव्यक्ति दिएको आरोप लगाए ।
ओलीले भनेका थिए ‘सेयर बजारमा लाखौं लगानीकर्ताहरुले लगानी गरेका छन् । त्यो संवेदनशिलतालाई नबुझेर हचुवामा बोल्नु बेठीक हो । कुन सेयर कारोबारीले चन्दा दिएन होला अनि त्यसको रिसमा प्रचण्ड बोले । ’
ओलीको अभिव्यक्तिपछि प्रचण्डले बिहीबार बिहानै एक विज्ञप्ति जारी गरेका छन् । अध्यक्ष ओलीले लगाएका आरोप प्रमाणित गर्न प्रचण्डले चुनौति दिएका छन् ।
‘ओलीबाट मैले भूमण्डलीकृत साम्राज्यवाद र वित्तिय एकाधिकार पूँजीवादबारे गरेको विश्लेषण माथि गरिएको टिप्पणीलाई दलाल पूँजीपति वर्गको एजेण्टको टिप्पणीका रुपमा खारेज गर्दछु,’ उनले भनेका छन्, ‘आजको पूँजीवादको चरित्रबारे मैले गरेको विश्लेषण सही रहेको दाबीसहित नेपालको सेयर बजारका सन्दर्भमा हाम्रो पार्टी र म समेत लाखौं लगानीकर्ताको हितका पक्षमा रहेको स्पष्ट गर्न चाहन्छु । दलाल पूँजीपतिको झुटो प्रचारबाट भ्रमित नहुन म सेयर होल्डर जनसमुदायसँग अनुरोध गर्दछु ।’
प्रचण्डले ओलीलाई झुट, बेइमानी र धोकाको अर्को नाम बताएका छन् । ‘दलाल पुँजीपति वर्ग र प्रतिगमनको राजनैतिक प्रतिनिधिका रुपमा देखा परेका एमाले गुटका अध्यक्ष केपी शर्मा ओली, झुट, बेइमानी र धोकाको अर्को नाम हो भन्ने तथ्यलाई उनले हालैको आफ्नै अभिव्यक्तिबाट पुनः प्रमाणित गरेका छन्,’ प्रचण्डले भनेका छन् ।




प्रतिक्रिया