काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बालुवाटारमा वार्ता जारी छ । सभामुखको टुंगो लगाउन दुवै अध्यक्षबीच वार्ता जारी रहेको नेकपाले जनाएको छ ।
पार्टी सचिवालयले शुक्रबार उपसभामुखलाई राजीनामा दिन लगाउने निर्णय गरेपछि सभामुखको टुंगो लगाउन आइतबार दुई अध्यक्षबीच प्रधानमन्त्री निवासमा वार्ता सुरु भएको छ । वार्ता सभामुखको चयनमा केन्द्रित रहेको अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ ।
पूर्वमाओवादी समूहले तत्कालीन एमाले र माओवादीबीचको भागबण्डामा सभामुख आफ्नो भागमा परेको र अहिले पनि आफूले नै सभामुख सिफारिस गर्न पाउनुपर्ने अडान राखेको छ भने पूर्वएमाले पक्षबाट प्रधानमन्त्री ओलीले सुवासचन्द्र नेम्वाङलाई सभामुख बनाउन चाहेका छन् भने पूर्वएमाले समूहबाटै उपसभामुख बनेकी शिवामाया तुम्बाहाङ्फेले पनि सभामुखका दावी प्रस्तुत गर्दै आइरहेकी छन् ।
नेकपाले सभामुखको टुंगो नलगाउँदा यसअधि प्रतिनिधिसभाको बैठक सूचना टाँसेर स्थगित गरिएको थियो । संसदको बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ । सभामुखको टुंगो आजै लगाउने तयारीमा दुवै अध्यक्ष जुटेका छन् ।
संसद सचिवालयकै कर्मचारीमाथि बलात्कार प्रयासको आरोपमा तत्कालीन सभामुख कृष्णबहादुर महराले असोज १४ गते पदबाट राजीनामा दिएपछि प्रतिनिधि सभाको सभामुख पद रिक्त रहेको छ ।




प्रतिक्रिया