सचिवालय बैठक सार्ने तयारीमा प्रधानमन्त्री, अध्यक्ष प्रचण्डसँग महासचिवको छलफल

सचिवालय बैठक सार्ने तयारीमा प्रधानमन्त्री, अध्यक्ष प्रचण्डसँग महासचिवको छलफल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेलले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् ।

मंगलबार बिहान खुमलटारमा महासचिव पौडेलले अध्यक्ष प्रचण्डसँग बुधबार बस्ने सचिवालय बैठकका विषयमा छलफल गरेका छन् । उनले बुधबार बस्ने सचिवालय बैठक प्रभावित हुन नदिन अध्यक्ष प्रचण्डलाई आग्रह गरेका हुन् ।

त्यस्तै महासचिव पौडेलले अध्यक्ष प्रचण्डलाई उक्त प्रस्ताव फिर्ता लिन पनि आग्रह गरेका थिए । नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले बुधबाको बैठक प्रभावित पार्ने सम्भावना भएकाले पार्टीभित्रका सबै समस्याहरु बैठकका माध्यमबाट हल गर्नका लागि दोस्रो तहका नेताहरुले सक्रियता देखाएको जानकारी दिए ।

‘भोलीको सचिवालय बैठक प्रभावित हुन नदिन हामीले अध्यक्षहरुसँग भेटेर छलफल गरिरहेका छौं । आज बिहान महासचिवले अध्यक्ष प्रचण्डसँग भेटेर बैठक प्रभावित नपार्न आग्रह गर्नुभएको छ । पार्टीभित्रका समस्या बैठकका माध्यमबाट समाधान गर्नुपर्ने हाम्रो माग छ’, नेता नेम्वाङले भने ।

यता बहुमत सचिवालय सदयहरु बुधबारको बैठक नरोक्ने पक्षमा छन् । वरिष्ठ नेता झलनाथ खनालले भोलीको बैठक कुनै पनि हालत नरोकिने जानकारी दिए ।

‘बुधबार सचिवालय बैठक बस्छ । के निर्णय लिनुपर्ने हो बैठकले नै निर्णय गर्छ ,’ नेता खनालले भने ।

यस्तै प्रवक्ता नारायणकाजी श्रेष्ठले सचिवालय बैठक स्थगित नहुने जानकारी दिए । उनले बहुमत सचिवालय सदस्यहरु बैठकको पक्षमा रहेकाले बैठक स्थगित नहुनेमा कुनै शंका नरहेको बताए ।

प्रधानमन्त्री अ‍ोलीले अध्यक्ष प्रचण्डको राजनीतिक प्रस्ताव फिर्ता नलिए बैठक बस्न नसक्ने अडान लिएका छन् ।

सम्भवतः मंसिर ३ गते अर्थात भोली बस्ने भनिएको सचिवालय बैठक स्थगन गर्ने तयारी भएको ओली समूहका एकनेताले जानकारी दिए । उनकाअनुसार प्रधानमन्त्री अ‍ोलीले २८ गते पेश भएको राजनीतिक प्रस्ताव फिर्ता नलिएसम्म बैठक नराख्ने नेताहरुसमक्ष बताइसकेका छन् ।

‘आइतबार साँझ ओली समूहका नेताहरुले अध्यक्ष प्रचण्डको राजनीतिक प्रस्तावको जवाफ दिनुनपर्ने सुझाव दिनुभएछ । सोहीअनुसार प्रधानमन्त्रीले पनि उक्त प्रस्ताव फिर्ता लिन पहल गर्दै हुनुहुन्छ । सम्भवतः भोलीको बैठक नबस्न पनि सक्छ’, ती नेताले काठमाण्डुपाटीसँग कुरा गर्दै भने ।

यता बहुमत सचिवालय सदस्यहरुले भने प्रधानमन्त्री अ‍ोलीले उक्त प्रस्तावको जवाफ दिनुपर्ने बताएका छन् । गण्डकी प्रदेशका मूख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले अध्यक्ष प्रचण्डको पत्रको जवाफ दिनुनपर्ने बताएका छन् । उनले उक्त प्रस्ताव नभई आरोप पत्र भएको बताएका छन् ।

आइतबार साँझ बालुवाटारमा भएको भेटवार्तामा मुख्यमन्त्रीसहितको समूहले उक्त पत्रको जवाफ नदिन प्रधानमन्त्रीलाई आग्रह गरेको बताएका छन् । केही दिन अगाडि प्रधानमन्त्री अ‍ोलीले उपाध्यक्ष वामदेव गौतम, वरिष्ठ नेता माधवकुमार नेपालसँग भेटवार्ता गरेका थिए ।

उनले अध्यक्ष प्रचण्डले पेश गरेको राजनीतिक प्रस्ताव फिर्ता लिन आग्रह गरेका थिए । तर, जवाफमा दुवै नेताहरुले उक्त प्रस्ताव पाँच जना सचिवालय सदस्यहरुको छलफलबाट तयार भएको बताउँदै सबै समस्या बैठकमा फेस गर्न आग्रह गरेका थिए ।

‘अध्यक्ष प्रचण्डले पेश गरेको राजनीतिक प्रस्ताव फिर्ता लिन पहल गरिदिनूस्’, उपाध्यक्ष गौतमसँग प्रधानमन्त्रीले भनेका थिए, ‘प्रस्ताव फिर्ता नलिए संकट थप चुलिन्छ ।’

जवाफमा गौतमले कार्यशैली नसच्चिएसम्म उक्त प्रस्ताव फिर्ता नहुने जवाफ फर्काएका थिए ।

‘मसँग भनेर केही हुँदैन । बैठकमा सबै कुरा राख्नुस् । प्रस्ताव भन्दा पनि तपाईको कार्यशैली सच्चिनुपर्छ’, उपाध्यक्ष गौतमको भनाई थियो, ‘तपाईको कार्यशैली सच्चिन्छ भने यो प्रस्ताव स्वतः फिर्ता हुन्छ नत्र हुँदैन ।’

सचिवालय सदस्यहरु पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले उक्त प्रस्ताव तयार पारेका हुन ।