अध्यक्ष ओलीसँग भिड्न गठबन्धनबाट रञ्जित तामाङ चुनावी मैदानमा, कसको अवस्था कस्तो छ ? 


काठमाण्डु- संघीय निर्वाचनमा झापाको क्षेत्र न. ५ बाट सत्तारुढ गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रले युवा नेता रञ्जित तामाङलाई उम्मेदवार बनाउने सम्भावना बढेको छ । यता प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबाट झापाको क्षेत्र न. ५ मा अध्यक्ष केपी शर्मा ओली उम्मेदवार बन्ने यस अघि नै पक्का भइसकेको थियो ।

यससँगै झापाको क्षेत्र न. ५ मा अध्यक्ष ओलीसँग गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका युवा नेता तामाङ चुनावी मैदानमा उत्रिने भएका हुन् । हालसम्म झापाको क्षेत्र न. ५ मा नेकपा माओवादी केन्द्रले कसलाई उम्मेदवार बनाउने भन्नेबारे टुंगो लगाएको छैन् । तर, युवा नेता तामाङलाई उक्त क्षेत्रबाट उम्मेदवार बनाउने सम्भावना भने देखिएको छ ।

यता प्रदेश कोषाध्यक्ष गगन पुरीलाई सरकारी जग्गा किर्ते गरेको अभियोग लागेको छ । त्यसकारण पनि तामाङलाई उम्मेदवार बनाउने माओवादीको तयारी छ  । अध्यक्ष ओली २०४८ सालको आमनिर्वाचनदेखि निरन्तर यो क्षेत्रबाट चुनाव लड्दै आएका छन् । यसपटक कांग्रेस–माओवादीसहितको पाँच दलीय गठबन्धन कायम रहने अवस्थामा ओलीका लागि प्रतिष्ठाको चुनाव पनि बन्ने देखिएको छ ।

०६४ मा माओवादी उम्मेदवारसँग पराजित भएका ओली ०७४ मा माओवादीकै साथ लिएर निर्वाचित भएका थिए ।  हाल ओलीको क्षेत्रकै दमक नगरपालिकाको मेयरमा भने सत्तारुढ गठबन्धनसँग राप्रपाले तालमेलले गर्दा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । अध्यक्ष ओलीकै गृह नगरमा एमाले पराजित गराउने गठबन्धनको उद्देश्य बमाजिम राप्रपाका राम थापाले मेयर बन्ने अवसर पाएका हुन् ।

 तथापि गत बैसाखमा सम्मपन्न स्थानीय तहको नतिजा अनुसार झापा ५ मा ओली शक्तिशाली देखिन्छन्। झापाको निर्वाचन क्षेत्र ५ मा २९ वटा वडा रहेका छन् । गत स्थानीय तहको निर्वाचनमा एमालेले १८ वटा वडामा प्यानलै जितेको छ । त्यसले स्वतः एमाले बलियो रहेको देखिन्छ । ओलीको निर्वाचन क्षेत्रमा गौरादह नगरपालिकाका वडा नम्बरहरू १, २, ३, ४, ५, ६, ७, ८ गौरीगंज गाउँपालिकाका वडा नम्बरहरू ३, ४, ५ र ६, दमक नगरपालिकाका सबै वडा र कमल गाउँपालिकाका सबै वडा पर्छन् ।

त्यसरी हेर्दा, गौरीगंज गाउँपालिकामा अध्यक्षसहित २ वटा वडामा कांग्रेस, उपाध्यक्षसहित तीनवटा वडामा एमाले र एउटा वडामा माओवादीले जित निकाल्न सफल भएको छ ।  यता कमल गाउँपालिका कांग्रेसले अध्यक्षसहित एउटा वडा र एमालेले उपाध्यक्षसहित अन्य पाँचवटा वडा जितेको छ । यी दुवै गाउँपालिकामा एमालेले धेरै वडामा जित हात पार्न सफल भएको छ ।

यसैगरी गौरादह नगरपालिकामा एमाले अध्यक्ष–उपध्यक्षसहित निर्वाचन क्षेत्र–५ मा पर्ने छ वटा वडा जितेको छ भने दमक नगरपालिकामा मेयर राप्रपा र उपमेयर कांग्रेसले जितेको थियो ।

यो नगरपालिकामा एमाले सातवटा वडा, कांग्रेसले २ र एउटा वडा राप्रपाले जितेको छ । गत स्थानीय तहको निर्वाचनमा वडागत मतका आधारमा हेर्दा झापा ५ मा एमाले ४१ हजार ६ सय १९, कांग्रेस २२ हजार २२, माओवादी १० हजार ७ सय ८८, राप्रपा ८ हजार ३ सय ५३ र एकीकृत समाजवादीले १ हजार ९ सय ८८ मत पाएका छन् ।

ओलीको निर्वाचन क्षेत्रमा स्थानीय निर्वाचनमा एमाले–राप्रपा गठबन्धन भएकाे भए ४९ हजार ९ सय ७० मत उनको पक्षमा हुने देखिन्छ भने कांग्रेस, माओवादीसहितको गठबन्धनसँग ३६ हजार मत मात्र रहने पनि देखिन्छ । राप्रपाले स्थानीय तहको चुनावमा सत्तारुढ दलहरुसँग तालमेल गर्दा अध्यक्ष ओलीकै गृह नगरमा एमाले पराजित भएको थियो ।

तर, संघको निर्वाचनमा भने नेकपा एमाले र राप्रपाबीच तालमेल हुने पक्का पक्की नै भएको छ । यसका लागि ओली र राप्रपा अध्यक्ष  राजेन्द्र लिङदेनबीच छलफल भइसकेको छ । त्यसकारण ४ मंसिरमा हुने संघ र प्रदेशसभाको निर्वाचनमा झापाको क्षेत्र न. ५ मा अध्यक्ष ओलीको जित निश्चित नै देखिएको छ । 

प्रतिक्रिया दिनुहोस
Advertisement