काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मर्यादापालकलाई सीमामा राख्न सरकारलाई चेतावनी दिएका छन् । प्रतिनिधिसभा बैठकअघि एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सांसदले विरोध र नाराबाजी गर्न पाउने वेल कब्जा नगर्न चेतावनी दिएका हुन् ।
‘मर्यादापालकको घेरा तोड्न खोज्या भए बेग्लै गर्थ्यौं । विरोध गरेको हो । मर्यादापालकले स्पेस दिनुपर्छ । वेल खाली ठाउँ हो । मन्त्री, सांसद, सभामुखको आसन होइन । सांसदहरूले गएर वेल घेर्ने चलन छ । नारा लगाउन सक्छन् । त्यसमै रोक्ने काम गर्नुहुँदैन,’ ओलीले भने ।
ओलीले मर्यादापालकको काम वेल कब्जा गर्ने नभई सुरक्षा दिने भएको बताए । ‘यदि रोक्ने काम भयो भने थप तनाव हुन्छ । मर्यादापालकले वेल कब्जा गर्ने होइन सुरक्षा दिने हो । ठाउँ नदिने भनेपछि हामी कहाँ जाने ? म भन्न चाहन्छु सत्तापक्षलाई धेरै कन्सन्ट्रेसनको विषय नबनाओस् । मर्यादापालकलाई सीमामा राखोस् । हाम्रो तर्फबाट पनि मर्यादा रहन्छ ।’
त्यस्तै उनले प्रतिनिधिसभामा संयमित भएर प्रस्तुत हुन सांसदहरूलाई निर्देशन दिए । ओलीले ‘सभामुखको टाउकोमा हान्न माइक तानेकी थिएँ’ भन्ने एमाले सांसद रेखाकुमारी झाको अभिव्यक्तिमा पनि सचेत गराए ।
‘हाम्रो संसदीय मर्यादा तोकिएका छन् । वेलमा जाने भन्दा दायाँबायाँ गर्नुहुन्न । वेलमा नारा लगाउँछौं । सामान्य अवस्था भयो भने विस्तारै नारा लगाउने । सत्ता पक्ष एग्रेसिभ भए जोरले नारा लगाउँछौं,’ उनले भने, ‘सभामुखलाई माइक हान्ने योजना थियो भन्ने होइन । त्यस्तो हामीले गर्ने होइन । जिम्मेवारीपूर्वक बोल्ने व्यवहार गर्ने हो ।’




प्रतिक्रिया