केपी ओलीको ‘असार १७ वाला’ भविष्यवाणी मिल्न लागेको हो ?

केपी ओलीको ‘असार १७ वाला’ भविष्यवाणी मिल्न लागेको हो ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनाव प्रचारका दौरान २४ वैशाखमा विराटनगर पुगेर भनेका थिए– ‘गठबन्धनको आयु असार १७ मात्रै हो’ । उनले गठबन्धनको आयु असार १७ मा टुट्छ भनेर आफुले नभनेको भएर ज्योतिषले भनेको दावी गरेका थिए ।

उनले भनेका थिए, ‘शेरबहादुरजी असाध्यै ज्योतिषीमा विश्वास गर्नुहुन्छ । त्यसो भए आफ्नो ज्योतिषीलाई बोलाएर सोध्नुस् जेठको महिना कस्तो छ, असारको महिना कस्तो छ ?’ विराटनगर पुगेर त्यस्तो भन्नुभन्दा दुई दिनअघि मात्र पत्रकार विजयकुमारलाई दिएको अन्तर्वार्तामा पनि अध्यक्ष ओलीले गठबन्धनलाई ‘ग्रहदशा लागेको’ दाबी गरेका थिए ।

ज्योतिषीको भविष्यवाणीमा अत्यधिक विश्वास गर्ने प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्योतिष विद्याकै डर देखाएका एमाले अध्यक्ष ओलीको भविष्यवाणी मिल्ने संकेत देखिएको छ ।

गठबन्धन टुट्न सक्ने लक्षण देखिन थालेका छन् । नेकपा एमालेका नेता घनश्याम भुषालदेखी नेकपा एकता राष्ट्रिय अभियान भनेर अभियाननै संचालन गरिरहेका बामदेव गौतमसम्म पुनः बाम एकताका लागी जोडदार रुपमै लागेकै छन् । नेपालमा फेरी बाम एकताका लागी चिन लागिरहेको भन्ने खबर आइरहेका छन् ।

यस्तो बेला ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग चिनीयाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियानचाओले गोप्य वार्ता गरेको खुलासा भएको छ । दुवै नेताले गोप्य राखेको सुचना चिनबाटनै बाहिर आएको हो । चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) को विदेश विभागले आफ्नो वेबसाइटमार्फत सो सूचना सार्वजनिक गरेको हो ।

नेपालमा फेरी बाम एकताका लागी चिन लागिरहेको भन्ने खबर आइरहेका बेला ओली र प्रचण्डसँगको चिनीयाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुखको कुराकानीलाई निकै अर्थपुर्ण रुपमा हेरिएको छ । यता सत्ता गठबन्धनदल माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीभित्र अहिले रडाको मच्चिएको छ ।

नेकपा एसले आफ्ना पुराना मन्त्रीलाई फिर्ता बोलाएर नयाँलाई शपथ खुवाउन प्रधानमन्त्रीलाई पत्र पठाइसकेको छ । तर, प्रधानमन्त्री शेरबहादुर देउवा मन्त्रीपरिषद पुनर्गठन गर्ने पक्षमा छैनन् । नेकपा एसका मन्त्रीहरु फिर्ता बोलाउँदा आफु अफ्ठ्यारोमा पर्ने बुझेका देउवाले विभिन्न बाहाना बनाउँदै आएका छन् ।

नेकपा एसका अध्यक्ष माधव नेपाल प्रधानमन्त्री देउवासँग असन्तुट छन् । उनले आजै साँझसम्म आफ्ना नयाँ मन्त्रीहरुलाई शपथ नखुवाए सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी समेत दिएका छन् । त्यस्तै शुक्रबार  नेता झलनाथ खनालले आगामी चुनावमा गठबन्धनभन्दा बाहिरका अन्य राजनीतिक दलहरुसँग पनि साझेदारी  र तालमेल गर्न सकिने बताएका थिए ।

यता अर्को गठबन्धन दल नेकपा माओवादी केन्द्रले पनि असन्तुष्टि जनाउन थालेको छ । माओवादी केन्द्रका नेता वर्षमान पुनले स्थानीय तहमा जस्तो प्रदेश र संघको चुनावमा नेपाली काँग्रेसको चलाखी अब नचल्ने धारणा व्यक्त गरेका छन् ।

सिन्धुपाल्चोकको चौतारामा शनिबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता पुनले स्थानीय तहको चुनावमा काँग्रेसले आफू जित्ने ठाउँमा माओवादीलाई अरूसँग गठबन्धन गर्न नदिने, माओवादी जित्ने ठाउँमा अरूसँग गठबन्धन गर्ने अनि आफू एक्लै जित्ने ठाउँमा सिङ्गल लड्ने र जसरी हुन्छ जित्ने चलाखी गरेको तर्क गरे ।

उनले भने, ‘स्थानीय तह निर्वाचनमा काँग्रेसले गठबन्धनको नाउँमा चलाखी गरेको देखियो। आफू जित्ने ठाउँमा माओवादीलाई अरूसँग गठबन्धन गर्न नदिने, माओवादी जित्ने ठाउँमा अरूसँग गठबन्धन गर्ने अनि आफू एक्लै जित्ने ठाउँमा सिङ्गल लड्ने गरेको देखियो । अब आउने निर्वाचनमा काँग्रेसको त्यस्तो चलाखी चल्दैन ।’

नेता पुनले काँग्रेसको चलाखीका बाबजुद अझै पनि काँग्रेससँगको गठबन्धनको औचित्य नसकिएको टिप्पणी गरे । अहिलेकै गठबन्धनलाई निरन्तरता दिने पक्षमा आफूहरू रहे पनि सम्मानजनक गठबन्धन भएन भने गठबन्धन टुट्न पनि सक्ने उनले चेतावनी दिए ।

‘केपी ओली प्रवृत्तिको कारण संविधान र लोकतन्त्र नै खतरामा परेको अवस्थामा गठबन्धन बनेको थियो र अझै जरुरी रहेको छ, पुनले भने, ‘आगामी निर्वाचनमा बाम गठबन्धनको चर्चा चले पनि केपी ओली प्रवृत्ति रहेसम्म त्यो सम्भावना छैन ।’

नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले नै सत्ता गठबन्धनको औचित्यमाथि प्रश्न उठाउन थालेका छन् । यसरी सत्ता गठबन्धन दलभित्रै चर्को असन्तुष्टि बढ्दै गइरहेका बेला एमाले अध्ययक्ष ओलीले ‘गठबन्धन असार १७ मा टुट्ने’ भनेर गरेको भविष्यवाणी मिल्न लागेको टिका टिप्पणी हुन थालेका छन् ।