काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विवाद उत्कर्षमा पुगेका बेला प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।
शनिबार दिउँसो बालुवाटारमा प्रधानमन्त्री ओली र सभापति देउवाबीच करिब २ घण्टा सत्ता सहकार्य र संवैधानिक पदमा नियुक्तीका विषयमा कुराकानी भएको हो ।
सभापति देउवाले संवैधानिक परिषद् र विश्वविद्यालयमा उपकुलपतिको नियुक्तीका विषयमा चासो राखेका थिए । जवाफमा प्रधानमन्त्री ओलीले नियुक्तीका विषयमा मिलेर जान सकिने बताएका थिए ।
उनले ‘सत्ता सहकार्यको बाटो खुला छ’ भन्दै के मा सहमति गर्नुपर्यो ? भनेको देउवा निकट कांग्रेसका एक नेताले जानकारी दिए ।
‘शनिबार भएको भेटमा प्रधानमन्त्रीजीले पार्टीबाट दबाबमा परेको र जनअपेक्षाअनुसारका काम गर्न नसकेको बताउनुभएछ । उहाँ सत्ता सहकार्यका लागि पनि कांग्रेसलाई आह्वान गर्नुभयो । सभापति देउवाले यसका विषयमा पार्टीभित्र छलफल गर्नुपर्ने बताउनुभयो’, ति नेताले भने ।
देउवाले सरकारका काम कारबाही प्रभावकारी हुन नसकेको, कोरोना नियन्त्रणमा सरकारको प्रभावकारी भूमिका नदेखिएको बताएका थिए । प्रधानमन्त्री अोलीले पार्टीभित्रको विवादका कारण सरकारका कामकारबाही प्रभावकारी हुन नसकेको बताएका थिए । उनले सरकारलाई पार्टीभित्रबाट असहयोग भएको भन्दै कांग्रेसको सहयोग मागेका थिए ।




प्रतिक्रिया