काठमाण्डु – माओवादी केन्द्र र जनता समाजवादी पार्टीबीच नयाँ सत्ता समिकरणको बहस भईरहेका बेला प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस भने निर्वाचन केन्द्रीत छलफलमा जुटेको छ ।
२०७२ सालमा भएको महाधिवेशनपश्चात् कांग्रेसको विधानअनुसार चार वर्षभित्र अर्को महाधिवेशन भइसक्नुपर्थ्यो । तर, पार्टीभित्रको आन्तरिक किचलोका कारण समयमा महाधिवेशन गर्न नसकिएको भन्दै गत वर्ष पौषमा विधानबमोजिम एक वर्ष समय थपिएको थियो । गत फागुनमा महाधिवेशन गर्ने भनिए पनि कोरोनाभाइरस महामारीको कारण देखाउँदै काँग्रेस सभापति शेरबहादुर देउवाले ६ महिना समय थपेका छन् ।
पार्टी विधानले दिएको म्यादमा पनि अब हुन नसक्ने भएपछि संविधानको राजनीतिक दलसम्बन्धी प्रावधानमा रहेको धारा २६९ को उपधारा ४ (ख)मा टेकेर अगाडी बढेको छ ।
उक्त धारामा राजनीतिक दलले प्रत्येक पाँच वर्षभित्र महाधिवेशन गरिसक्नुपर्ने अनि कारणवश नसकिएमा छ महिना थप्न सकिने उल्लेख छ । कांग्रेसको महाधिवेशन भएको ५ वर्ष पुगिसकेको छ । भदौ ७ गते १४ औं महाधिवेशनको मिति तोकिएको छ । भदौमा महाधिवेशन नगर्दा कानूनी जटिलता समेत आउनेछ ।
पार्टीको विधानै एकातिर पाखा लागेको र देशको संविधानलाई समातेर पार्टीको म्याद बचाउनुपर्ने स्थितिआउनु ठूलो लज्जाको विषय बनेको कांग्रेस वृत्तमा चर्चा छ । तोकिएको मितिमा पनि पार्टी सभापति देउवाले महाधिवेशन गराउनेमा आशंका उत्पन्न भएको छ ।
शनिवार बालुवाटारमा बसेको सर्वदलीय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसको महाधिवेशन भदौमा गर्न सम्भव नहुँदा आइपर्ने संवैधानिक र कानूनी जटिलता फुकाइदिनुपर्ने हो भने सरकार तयार रहेको भन्ने आश्वासन दिनुले पनि सभापति देउवा र प्रधानमन्त्रीको सहकार्य बुझ्न अफ्ठ्यारो नपर्ने कांग्रेस बृत्तमा चर्चा चल्न थालेको छ ।
एकातिर ओलीको विकल्पमा सरकार बनाउन सभापति अग्रसर नभएको भन्ने आलोचना खेपेका देउवालाई पार्टी भित्र इतर पक्षले दवाब दिइरहेका छन् । कुनै पनि हालतमा तोकीएको समयमा महाधिवेशन हुनुपर्ने उनीहरुको माग छ ।
कांग्रेस केन्द्रीय सदस्य अर्जुन नरसिंह केसी भन्छन्, ‘एक दुई दिन तलमाथि होला तर, तोकिएको समयमा महाधिवेशन गर्नैपर्छ । त्यसका लागि कहाँ के गर्नुपर्ने हो सबै मिलेर जानुपर्यो, अनि अर्को कुरा मैले सुने हाम्रो पार्टीको आन्तरीक समस्या प्रधानमन्त्रीले कसरी हल गर्नुहुन्छ ? हाम्रो विधान संशोधन गर्ने प्रधानमन्त्रीलाई अधिकार छ ? उहाँले चाहेर केही हुनेवाला छैन कि त संविधान नै संशोधन गनुपर्यो ।’
प्रधानमन्त्री ओली आफ्ना कमजोरी लुकाउन कांग्रेसको आन्तरीक मामिलामा प्रवेश गरेको उनले बताए । कांग्रेस सभापति देउवा पार्टीको नेतृत्व लम्याउने दाउ र प्रधानमन्त्री सत्ता लम्याउने खेलमा लाग्नुले दुई वटा शंका गर्ने प्रशस्त ठाउँ भेटिएको उनको भनाइ छ ।
उनले भने, ‘उहाँहरु बिच के छ थाह छैन तर नयाँ सरकार गठनका लागि पहल नगर्नुले पनि सभापतिलाई शंका गर्ने ठाउ छ ।’
पार्टीभित्रको दबाब थेग्न नसकेपछि औपचारीकताका लागि मात्र सभापति सकृय भएको कांग्रेस नेताहरु बताउँछन् । चुनाव अगावै महाधिवेशन भयो भने पद धरापमा पर्ने देखेपछि सभापति देउवा चुनावपछि महाधिवेशन गर्ने मनस्थितिमा रहेको स्रोतले बताएको छ । तर, चुनावपछि महाधिवेशन गर्न कांग्रेसलाई संवैधानिक जटिलता छ । जटिलताको गाँठो फुकाउन संविधान संशोधनमात्र विकल्प छ ।
यस्तो प्रधानमन्त्री ओली पनि चुनावसम्म आफ्नो सरकार टिकाउन चाहन्छन् । तर अहिलेको परिस्थितिमा सरकार टिकाउन गाह्राे छ । दलहरु ओलीको विकल्प खोज्न कसरत गरिरहेका छन् । आफ्नो सरकार टिकाउनकै लागि भएपनि ओलीले कांग्रेसको साहारा नलेलान् भन्न सकिँदैन । काँग्रेसका केही नेताहरुले स्वार्थका लागि दुवै नेता भित्रभित्रै मिलेको आँकलन गरेका छन् ।




प्रतिक्रिया