बालुवाटार बैठक सकियो, ठट्टा गरेरै ओलीले बिताए एक घण्टा !


काठमाडौं – सत्तारुढ नेकपाका दुबै अध्यक्ष र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापतिबीच शनिबार बालुवाटारमा भएको वार्ता विना निष्कर्ष टुङ्गिएको छ ।

बालुवाटारमा प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली, नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच छलफल भएको थियो ।

बैठकमा सहभागी कांग्रेस नेता रमेश लेखकले एक घण्टा लामो छलफल भए पनि निष्कर्ष ननिस्किएको बतए । उनले प्रधानमन्त्रीले ठट्टा गरेर बिताएकोमा गुनासो गरेका छन् ।

‘किन हामीलाई बोलाइयो, त्यो नै हामीले थाहा पाउन सकेनौँ’, उनले भने, ‘प्रधानमन्त्रीले पहिलेजस्तै ठट्टा गरेर समय बिताइदिनुभयो ।’

खासमा शनिबार विहान ओली–प्रचण्डबीचमा छलफल हुने कार्यक्रम थियो । शुक्रबार अपरान्ह ४ बजे अध्यक्षद्वयबीच हुने भनिएको कार्यक्रम शनिबार विहानका लागि सारिएको थियो । तर शनिबार विहान ओलीले प्रचण्डमात्र होइन, देउवालाई पनि छलफलका लागि बालुवाटार बोलाए ।

यता छलफलमा नेताबीच मुलुक सञ्चालन गर्दा साझा सहमति र सहकार्यका आधारमा अगाडि बढ्न सहमति भएको छलफलमा सहभागि नेकपा संसदीय दलका उपनेता सुवास नेम्बाङले जानकारी दिए ।

उनले मुलुक सञ्चालन गर्दा कतिपय कुरा प्रतिपक्षसँग पनि मिलेर गर्नुपर्ने भएकाले प्रधानमन्त्रीले प्रतिपक्ष दलका नेतासँग छलफल गरेको बताए ।

‘राज्य सञ्चालन गर्दा सत्तापक्ष र प्रतिपक्षबीच साझा सहमति आवश्यक हुन्छ, त्यही साझा सहमति खोज्न छलफल भएको हो’, उनले भने, ‘संसद् सञ्चालनदेखि राजनीतिक नियुक्तसम्म सबै सहमतिका आधारमा गर्ने सहमति भएको छ ।’

प्रतिक्रिया दिनुहोस
Advertisement