प्रधानमन्त्री ओलीको दक्षिण–पूर्वी एसिया प्रवेश : पर्यटन प्रर्वद्धनमा कोशेढुंगा

प्रधानमन्त्री ओलीको दक्षिण–पूर्वी एसिया प्रवेश : पर्यटन प्रर्वद्धनमा कोशेढुंगा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – संसदमा दुईतिहाइ बहुमत प्राप्त प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गरिरहेको महत्त्वपूर्ण काम हो – कूटनीतिक सम्बन्ध विस्तार ।

राजनीतिक स्थायित्वसँगै सरकारले छिमेकी भारत र चीनसहित अन्तर्राष्ट्रिय निकायमा सम्बन्ध विस्तार र पुनर्ताजगीको काम गरिरहेको छ भने अन्तर्राष्ट्रिय समुदाय समेत स्थिर सरकारसँग सम्बन्ध बढाउन ढुक्क देखिएको छ ।

अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारको पछिल्लो प्रयास भएको छ प्रधानमन्त्री ओलीको भियतनाम भ्रमण । ओली प्रधानमन्त्री बनेपछि पहिलो पटक दक्षिण–पूर्वी एसियाको देश भियतनाम पुगेका हुन् । भियतनामसँग प्रधानमन्त्री ओलीले विभिन्न सम्झौता समेत गरेका छन् ।

दुवै देशबीच सम्बन्ध र व्यापार प्रवद्र्धन गर्ने समझदारी भएको छ । प्रधानमन्त्री ओली र समकक्षी ङुयेन सुआन फुकबीच भएको औपचारिक वार्तामा भिसा सहजीकरणसम्बन्धी द्विपक्षीय समझदारी पत्रमा समेत हस्ताक्षर भएको छ । भियतनामी प्रधानमन्त्रीसँगको वार्तापछि १६ बुँदे संयुक्त वक्तव्य जारी गरिएको छ ।

पर्यटन प्रर्वद्धन प्राथमिकता

प्रधानमन्त्री ओलीको भ्रमणमा सामान्य कूटनीति सम्बन्ध विस्तारसँगै पर्यटन प्रवद्र्धन प्राथमिकतामा परेको छ । नेपाल भ्रमण वर्ष २०२० लाई सघाउने विषयमा भियतनामले वचन दिएको छ । भियतनाममा बुद्ध धर्मावलम्बी धेरै छन्, उनीहरूलाई लुम्बिनी ल्याउन सके पर्यटन उद्योगमा ठूलो टेवा पुग्नेछ ।

भियतनामले बुद्धको जन्मभूमि लुम्बिनी जान आफ्ना नागरिकलाई प्रोत्साहित गर्ने प्रतिवद्धता जनाएको छ । दुवै पक्षले प्रत्यक्ष हवाई सेवा स्थापना गर्ने सहमति समेत गरेका छन् । सम्बन्धित मन्त्रालय र अधिकारीलाई हवाई सेवा स्थापनाका लागि आवश्यक तयारी गर्न दुवै प्रधानमन्त्रीले निर्देशन दिएका छन् । अब नेपाल–भियतनाम हवाई सेवा सञ्चालनको बाटो समेत खुलेको छ ।

हवाई सेवा सञ्चालनपछि एकातिर पर्यटकलाई नेपाल आउन सहज हुनेछ भने अर्काेतिर नेपाली विमान कम्पनीको आर्थिक अवस्था उकासिने छ । नेपाल वायु सेवा निगमले खरिद गरेका वाइडबडी विमानले समेत यसपछि काम पाउने छन् । टाट पल्टिने अवस्थामा पुगेको निगमको आर्थिक अवस्था सुधार्न समेत योगदान पुग्नेछ ।

अन्तर्राष्ट्रिय मञ्चमा सार्वजनिक रुपमा आह्वान

भ्रमणका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले भियतनामका प्रधानमन्त्रीलाई नेपाल भ्रमणमा आउन आग्रह गरेका छन् । उनीसँगै प्रधानमन्त्री ओलीले विश्व समुदायलाई नेपाल भ्रमण गर्न आह्वान गरे । भियतनामको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसंघको बैशाख दिवसका अवसरमा भियतनाम सरकार तथा राष्ट्रिय भियतनाम बौद्ध संघले हा नाम प्रान्तमा आईतबार आयोजना गरेको कार्यक्रममा गौतम बुद्धको जन्मस्थल नेपाल बौद्ध दर्शनको पनि उत्पत्तिस्थल भएकाले सबै बौद्ध धर्मावलम्बीले आफ्नो जीवनमा एक पटक लुम्बिनीको भ्रमण गर्नुपर्ने बताएका छन् ।

‘बौद्ध धमावलम्बीको विश्व नेतृत्वतर्फ प्रयास र दीगो विकासका लागि जिम्मेवारी साझेदारी’ नाराका साथ तीन दिने कार्यक्रम उद्घाटन भएको छ । भियतनामका प्रधानमन्त्री न्गुएन सुआन फुकले विश्वमा शान्ति र समन्वय स्थापना गर्न कार्यक्रम महत्त्वपूर्ण प्रयास भएको बताएका छन्, जसमा नेपालले आफ्नो कुरा राख्ने अवसर पाएको छ ।

कार्यक्रममा म्यानमाका राष्ट्रपति युविन मिन्तले बौद्ध धर्मका शिक्षा तथा दैनिक जीवनमा उपयोगका विषयमा चर्चा गरेका छन् । कार्यक्रममा प्रमुख वक्ता भारतका उपराष्ट्रपति वेन्काइ नाइडुले बौद्ध दर्शन व्यवहारमा लागू गरेपछि शान्ति तथा दिगो समाज प्राप्त गर्न सकिने बताए । यो कार्यक्रमबाट गौतम बुद्धको प्रचारप्रसार बढ्ने र जसबाट नेपालको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । विश्वका ११२ मुलुकबाट करीब १० हजार प्रतिनिधिले कार्यक्रममा सहभागिता जनाएका छन् ।

भियतनामपछि प्रधानमन्त्री ओली कम्बोडिया भ्रमणमा जाने कार्यक्रम रहेको छ । प्रधानमन्त्री ओली सोमबार कम्बोडिया जाँदैछन् । भियतनाम र कम्बोडिया दुवै देश बुद्धधर्म बाहुल जनसंख्या भएका देश हुन् ।