भारत–चीन लिपुलेक सहमतिमा चिनियाँ राष्ट्रपति सीसँग प्रधानमन्त्री ओलीको आपत्ति

भारत–चीन लिपुलेक सहमतिमा चिनियाँ राष्ट्रपति सीसँग प्रधानमन्त्री ओलीको आपत्ति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – चिनियाँ राष्ट्रपति सी जिनफिङसँग शनिबार भएको भेटमा प्रधानमन्त्री केपी शर्मा ओलीले लिपुलेकलाई व्यापारिक मार्ग बनाउने विषय भारत–चीन सहमतिबारे स्पष्ट आपत्ति जनाएका छन् ।

भेटबारे जानकारी गराउँदै परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले प्रधानमन्त्री ओलीले नेपाली भूमिलाई भारत–चीनले व्यापारिक मार्ग बनाउनेबारे गरेको सहमतिमा राष्ट्रपति सीसँग आपत्ति जनाएका हुन् ।

सन् १८१६ को सुगौली सन्धिअनुसार महाकाली नदीको पूर्वतर्फका सबै भूभाग नेपालकै सार्वभौम क्षेत्र भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले चीन–भारतबीच भएको सहमतिको विषयमा आपत्ति प्रकट गरेका जनाइएको छ ।

भेटका क्रममा २ देशबीचको मित्रवत सम्बन्ध र सहकार्यका विविध क्षेत्रबारे छलफल भएको र सम्बन्ध अझ मजबुत बनाउन दुवै पक्ष अग्रसर हुने सहमति बनेको परराष्ट्र सचिव राईले बताए । नेपालले लिपुलेकको विषयमा आफ्नो अडान दृढ राखेको र यस मामिलामा चीनले नेपाललाई सहयोग गर्ने विश्वास लिएको उनले बताए ।

सांघाइ सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनका लागि शनिबार अपराह्न चीन पुगेका प्रधानमन्त्री ओलीले राष्ट्रपति सीसँग थ्येनचिन अतिथि गृहमा भेटवार्ता गरेका छन् ।

प्रधानमन्त्री ओलीले १ सेप्टेम्बरमा शाङ्हाई शिखर सम्मेलनलाई सम्बोधन गर्नुका साथै सम्मेलनको अवसरमा विश्वका राष्ट्र प्रमुख तथा सरकार प्रमुखसँग भेटवार्ता गर्नेछन् ।