काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटालाई राजीनामा गराउन सुझाव दिएका छन् । बाँस्कोटाले ७० करोड घूसका बार्गेनिङ गरेको अडियो सार्वजनिक भएपछि प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष प्रचण्डबीच बालुवाटारमा भेटवार्ता भएको थियो ।
अध्यक्ष प्रचण्डले यो प्रकरणले पार्टीलाई समेत क्षति पुर्याउने भन्दै बाँस्कोटालाई तत्काल राजीनामा गराउन प्रधानमन्त्री ओलीलाई सुझाव दिएका हुन् ।
भेटमा प्रधानमन्त्री ओलीले बाँस्कोटालाई आजै बालुवाटार बोलाएर कुरा गर्ने र त्यसपछि आवश्यक कदम चाल्ने बताएका छन् । कुराकानीपश्चात प्रचण्ड बालुवाटारबाट बाहिरिइसकेका छन् ।
मन्त्री बाँस्कोटा सुदूरपश्चिमको कञ्चनपुरमा रहेकाले उनी त्यहाँबाट फर्किँदैछन् । उनी धनगढी हुँदै आज दिउँसो काठमाडौं ओर्लिनेछन् ।
प्रधानमन्त्रीले आजै मन्त्री बाँस्कोटासँग कुरा गर्ने प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले बताए ।
सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि मन्त्री बाँस्कोटाले स्वीस कम्पनीका नेपालस्थित एजेन्टसँग ७० करोड बार्र्गेनिङ गरेको अडियो सार्वजनिक भएको थियो ।




प्रतिक्रिया