चार मन्त्रीलाई पुनःनियुक्ती गर्ने प्रधानमन्त्रीको तयारी, रिक्त सांसद पदको उपनिर्वाचन कहिले ?


काठमाण्डु – प्रतिनिधिसभाका चार सांसदको पद रिक्त भएको छ । माओवादी केन्द्रले नेकपा एमालेतर्फ लागेका आफ्ना चार जना सांसदलाई कारबाही गरेपछि चार वटा सांसद पद रिक्त भएको हो ।

रिक्त रहेका चार वटा सांसद पदको उपनिर्वाचन गराउनुपर्ने भएको छ । निर्वाचन आयोगले सरकारको सिफारिसमा उपनिर्वाचन गर्नुपर्ने भएको हो । संसद सचिवालयले रिक्त रहेका चार वटा सांसद पदबारे निर्वाचन आयोगलाई पत्र पठाउने तयारी गरेको छ ।

संसद सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाका अनुसार प्रतिनिधिसभाको कार्यकाल ६ महिनाभन्दा बढी रहेकाले त्यसपछि निर्वाचन आयोगले रिक्त ठाउँमा उपनिर्वाचन गराउनुपर्ने संवैधानिक व्यवस्था रहेको छ ।

बिहीबार बसेको संसद बैठकमा सभामुख अग्नी सापकोटाले माओवादी केन्द्रले पठाएको पत्र अनुसार उनीहरूले दल त्याग गरेको सूचना सुनाएर पढेर सुनाएपछि उनीहरुको सांसद पद खारेज भएको हो ।

माओवादी केन्द्र त्याग गरेका सांसदहरु टोप बहादुर रायमाझी, लेखराज भट्ट, प्रभु शाह र गौरी शंकर चौधरीको सांसद पद खारेज भएको छ ।

केपी शर्मा ओली सरकारमा रहेका उर्जामन्त्री रायमाझी, आपूर्तिमन्त्री भट्ट, सहरी विकासमन्त्री साह र श्रममन्त्री चौधरीलाई फिर्ता बोलाउँदै पार्टीले स्पष्टिकरणसमेत सोधेको थियो ।

सांसद पद खारेज भएपछि उनीहरु मन्त्रीबाट स्वतः पदमुक्त हुने भएका छन् । तर, प्रधानमन्त्री केपी शर्मा ओलीले उनीहरुलाई पुनः मन्त्रीमा नियुक्त गर्ने तयारी गरेका छन् । सांसद नभए पनि ६ महिनासम्म मन्त्री बन्नसक्ने संवैधानिक व्यवस्था रहेको छ ।

सांसद भएको अवस्थामा उनीहरु संविधानको धारा ७६ अनुसार मन्त्री भएका थिए । अब सांसद पदबाट हटेपछि संविधानको धारा ७८ अनुसार मात्र मन्त्री हुन सक्ने व्यवस्था छ ।

गत ०७४ सालको निर्वाचनमा रायमाझी अर्घाखाँची, भट्ट कैलाली–४, साह रौतहट–३ र चौधरी कैलाली–३ बाट नेकपा माओवादी केन्द्रबाट प्रत्यक्षतर्फ निर्वाचित भएका थिए ।

माओवादी केन्द्रका संसदीय दलका नेता पुष्पकमल दाहालले संसद् सचिवालयलाई पत्र लेखेर उनीहरूले दल त्याग गरेको जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement