२-४ सय नेताले छोड्दा पार्टीमा संकट आउँदैन, निर्वाचनको तयारी गर्नुस्: प्रधानमन्त्री ओली

२-४ सय नेताले छोड्दा पार्टीमा संकट आउँदैन, निर्वाचनको तयारी गर्नुस्: प्रधानमन्त्री ओली


काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले चुनावको तयारीमा निर्वाचन आयोग लागिसकेकाले तयारी थाल्न आग्रह गरेका छन् ।

सोमबार ढल्केबरमा विद्युतको सब–स्टेसन उद्घाटनपछि आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले चुनाव एक दिन पनि पर नसर्ने दाबी गर्दै तयारी थाल्न आग्रह गरेका हुन् । उनले कुनै पनि हालतमा धनुषामा वैशाख १७ गते नै चुनाव हुने दाबीसमेत गरे ।

‘धनुषाको यो क्षेत्रमा वैशाख १७ गते नै चुनाव हुन्छ, चुनावको तयारीमा लागिहाल्नुस,’ उनले भने, ‘निर्वाचन आयोगको काम नै चुनाव गराउने हो । आयोगले चुनाव गराउँछ । एकदिन पनि पर सर्दैन । तोकिएकै समयमा चुनाव हुन्छ ।’

ओलीले केही सय जनाले पार्टी छाड्दा फरक नपर्ने समेत बताए । ‘२–४ जना नेता जाँदा पार्टीमा संकट आउँछ ? ३ करोड जनता छन् । पार्टी छाडेर कस्ता गए ? देश बनाउने खालका गए, देशभक्ति भएका, जनतालाई सुख दिने खालका गए र ?’

प्रधानमन्त्री ओलीले आफूलाई मधेसविरोधी भनेर प्रचार गरिएकोमा पनि चित्त दुखाए ।

‘केपी ओली मधेसीविरोधी हो भनेर कान–कानमा पुर्‍याएका होला । ती मधेसप्रेमी डोम, चमार र दुसाधको छोरालाई काँखमा राख्न सक्छ,’ उनले भने, ‘हेरु त कतिको मधेसीप्रेमी हो । केपी ओलीले नै मधेसमा बाटो, ढल र सिंचाइ बनाउँछ । तराईमा सिंचाइ गर्न पहाड छेडेर कोसी ल्याउँदैछौ ।’