तीन महिनाभित्र सबै नेपालीले खोप लगाउन पाउँछन्ः प्रधानमन्त्री ओली

तीन महिनाभित्र सबै नेपालीले खोप लगाउन पाउँछन्ः प्रधानमन्त्री ओली


काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना खोप लगाउन थालिए पनि कोरोनाबाट बच्ने उपाय भने अपनाउदै जानुपर्ने बताएका छन् । उनले बुधबार भर्चुअल माध्यमबाट कोरोना भाइरसविरुद्धको खोप अभियानलाई सम्बोधन गर्दै पूर्ण रुपमा कोरोना नियन्त्रण नभएसम्म मास्क लगाउने हात धुने र सामाजिक दूरी कायम राख्ने लगायत सुरक्षा अतर्कता अपनाउन आग्रह गरेका हुन् ।

‘खोप लगाउन थालिए पनि यो (कोरोना महामारी) निमिट्यान्न नहुँदासमम मास्क अनिवार्य प्रयोग गर्ने, भौतिक दूरी कायम गर्ने तथा उचित खानपान र सरसफाइमा ध्यान दिने गर्नुपर्छ,’ उनले भने ।

साथै प्रधानमन्त्री ओलीले खोप दिएकोमा भारत सरकार र प्रधानमनत्री नरेन्द्र मोदीलाई धन्यवाद समेत दिएका छन् । उनले भारतबाट उचित मूल्यमा खोप खरिद गर्नेबारे छलफल भइरहेको बताउँदै अबको तीन महिनाभित्रमा सबै नेपालीले खोप लगाउन पाउने बताए ।

उनले यस अभियानमा देशभरका स्थानीय तहले क्वारेन्टाइनको व्यवस्था गरेर कोरोनाविरुद्धको लडाईमा खेलेको भूमिकाका लागि प्रसंशा गरेका थिए । प्रधानमन्त्री ओलीले कोरोना महामारीले अप्रत्याशित रुपमा ज्यान लिएको प्रति दुख व्यक्त गर्दै मृतकका परिवारहरुलाई समवेदना प्रकट गरेका छन् ।

उनले अब सबै मानिसहरु सतर्क रहेकाले पहिला जस्तो गरेर कोरोना नफैलिने बताए । उनले विश्वका अन्य देशको तुलनामा नेपालमा क्षति कम भएको बताउदै पहिलो कोरोनाको केस देखिदा परिक्षण गर्ने ठाउ नभएकोमा अहिले ८२ ठाउबाट कोरोनाको परिक्षण भइरहेको बताए ।

भारत सरकारले अनुदानमा दिएको सीरम इन्स्टिच्युटले अक्सफोर्ड युनिभर्सिटी र एस्ट्राजेनिकाको सहकार्यमा बनाएको ‘कोभिसिल्ड’ खोप पहिलो चरणमा बुधबार स्वास्थ्यकर्मी, सरसफाइकर्मी, एम्बुलेन्स चालक, शव व्यवस्थापन गर्ने व्यक्ति, खोप केन्द्रमा खटिने सुरक्षाकर्मी, वृद्धाश्रममा काम गर्ने कर्मचारीलाई दिइँदै छ ।

खोपको पहिलो दिन १२ हजार जनालाई खोप लगाइने स्वास्थ्यमन्त्री हृदेश त्रिपाठीले जानकारी दिएका छन् । पहिलो चरणको खोप अभियान १० दिनमा सकिने मन्त्री त्रिपाठीले बताएका छन् ।