काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड–माधव नेपाल समूहका नेता भीम रावललाई सर्वोच्च अदालतमा जान सुझाव दिएका छन् ।
सोमबार १११ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा बोल्दै प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतमा गएर प्रधानमन्त्री कुन पार्टीको भनेर सोध्न आग्रह गरेका छन् ।
‘उहाँहरुले नेकपाको साधारण सदस्यबाट निकाल्नुभयो । म साधारण सदस्य पनि होइन अदालतले भन्यो म कुन पार्टीको अध्यक्ष हो भने र । अब हुँदा हुँदा प्रधानमन्त्री कुन पार्टीको हो जानकारी पाउँ । सर्वोच्च अदालतमा सोध्न जाउँ कुन पार्टीको भनेर’, उनले भने ।
प्रधानमन्त्री ओलीले संसद पुनःस्थापना नभएको भए देश चुनावमा गएर सहज रुपमा नयाँ सरकार गठन हुने बताए । उनले संसद पुनःस्थापना भए पनि संसद बैठकका काम कारबाही सहज रुपमा सुचारु गर्न पनि सांसदहरुलाई आग्रह गरेका छन् ।
प्रधानमन्त्री ओलीले प्रचण्ड–नेपाल र कांग्रेसले सदन अवरुद्ध पारेको विषयमा स्पष्ट पारे । उनले सदनमा पेश भएको अध्यादेश फेल गरेर देखाउन पनि चुनौती दिए ।
‘यतिबेला देश चुनावमा जान्थ्यो । नयाँ सरकार निर्माण हुन्थ्यो । पुनःस्थापित संसदलाई देश र जनताका समस्याका बारेमा छलफल गरौंन । छलफल गरौंन संसद धामी नाच हो कि । सक्छौ भने अध्यादेश फेल गरे भइगो नि । फेल गर्ने आँट पनि छैन् । मुद्दा लडेर आइसकेपछि ताजुब देखियो’, उनले भने ।




प्रतिक्रिया