प्रधानमन्त्री ओलीले विश्वासको मत नपाए यसरी गठन हुन्छ नयाँ सरकार

प्रधानमन्त्री ओलीले विश्वासको मत नपाए यसरी गठन हुन्छ नयाँ सरकार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभामा विश्वासको मत लिंदैछन् । दिउंसो १ बजे प्रधानमन्त्री ओलीले विश्वासको मत लिन लागेका हुन् ।

संविधानको धारा ७६ को उपधारा (२) मा उपधारा (१) बमोजिम कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा संसदमा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने सदस्यलाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्ने व्यवस्था छ ।

एमाले अध्यक्ष केपी ओलीले संसदमा विश्वासको मत नपाएमा संविधानको धारा ७६ को उपधारा (२) बमोजिम नयां सरकार गठन हुनेछ । तर, कांग्रेसले सरकार गठनको लागी अग्रसरता नदेखाएको र जसपाले तटस्थ बस्ने निर्णय गरेको अवस्थामा माओवादीको मात्रै सरकार बन्न सक्ने अवस्था देखिंदैन् । आइतबार जसपा अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री ओलीसंग आफूहरु तटस्थ बस्ने बताइसकेका छन् । त्यसपछि पुनः ओली नै संसदमा ठूलो दलको हैसियतमा प्रधानमन्त्री बन्नेछन् ।

संविधानको धारा ७६ को उपधारा (३)मा उपधारा (२) बमोजिम प्रधानमन्त्री नियुक्त हुन सक्ने अवस्था नभएमा वा त्यसरी नियुक्त प्रधानमन्त्रीले उपधारा (४) बमोजिम विश्वासको मत प्राप्त गर्न नसेकमा राष्ट्रपतिले संसदमा सबैभन्दा बढी सदस्य भएको दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्ने व्यवस्था रहेको छ ।

उपधारा (४) मा भनिएको छ, ‘उपधारा (२) वा (३) बमोजिम नियुक्त प्रधानमन्त्रीले त्यसरी नियुक्त भएको मितिले तीस दिनभित्र संसदबाट विश्वासको मत प्राप्त गर्नुपर्नेछ ।’

७६ को उपधारा (४) बमोजिम पुनः विश्वासको मत नपाएको खण्डमा उपधारा (५) को सरकार हुनेछ ।

उपधारा ५ मा भनिएको छ, ‘उपधारा (३) बमोजिम नियुक्त प्रधानमन्त्रीले उपधारा (४) बमोजिम विश्वासको मत प्राप्त गर्न नसेकमा उपधारा (२) बमोजिमको कुनै सदस्यले प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्न सक्ने आधार प्रस्तुत गरेमा राष्ट्रपतिले त्यस्तो सदस्यलाई प्रधानमन्त्री नियुक्त गर्नेछ ।’

वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले केपी ओलीले पुनः विश्वासको मत नपाएको खण्डमा संसदमा आफूलाई बहुमत देखाउन सक्ने अर्को दलको नेतृत्वमा सरकार बन्ने बताए ।

‘संसदको कुनै दलले हामी सरकार बनाउंछौं भनेर बहुमत देखाउन सके उनीहरुको नेतृत्वमा सरकार बन्छ र ओलीलाई सरकारबाट हटाउन सकिन्छ’, उनले भने ।

त्यस्तै वरिष्ठ अधिवक्ता भण्डारीले प्रधानमन्त्री ओलीले आफूले विश्वासको मत नपाएको खण्डमा संसद विघटन गरेर निर्वाचनको घोषणा गर्न सक्ने पनि बताए ।

‘प्रधानमन्त्री ओलीले संसद विघटन गरेर चुनावको घोषणा गर्नेछन’, उनले भने ।