काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध काठमाडौंको टुँडिखेलमा नाराबाजी गर्ने दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
सोमबार टुँडिखेलमा गौरा पर्व अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध नाराबाजी गर्दै कार्यक्रम विथोल्न खोजेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले मंगलबार दुई जनालाई सोधपुछको लागि नियन्त्रणमा लिएको जानकारी दिए । सुर्खेतका गोपीराज जैसी र अछामका रामबहादुर बुढालाई नियन्त्रणमा लिइएको एसपी अधिकारीले जानकारी दिए । उनले मुद्दा चल्ने नचल्नेबारे बुधबार निर्णय हुने जानकारी दिए ।
गौरा पर्वको कार्यक्रममा सहभागी युवाहरूले आफ्नो नाम लिएर नाराबाजी गरेपछि प्रधानमन्त्री ओलीले नाराबाजीप्रति लक्षित गर्दै नेपाली समाज बहुसांस्कृतिक र शान्तिप्रेमी भएकाले यस समाजलाई बिथोल्ने र भड्काउने प्रयास सफल नहुने बताएका थिए।
कांग्रेस सभापति देउवाले गौरा पर्वको कार्यक्रम विथोल्न खोजिएको भन्दै असन्तुष्टि जनाएका थिए।




प्रतिक्रिया