सरकारले भारतले अतिक्रमण गरेको भूमि फिर्ता लिन्छः प्रधानमन्त्री ओली

सरकारले भारतले अतिक्रमण गरेको भूमि फिर्ता लिन्छः प्रधानमन्त्री ओली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले अतिक्रमण गरेको भूमि फिर्ता लिन सरकार दृढतापूर्वक अघि बढने प्रतिबद्धता व्यक्त गरेका छन् ।

सत्तारुढ दल नेकपाका अध्यक्षसमेत रहनु भएका प्रधानमन्त्री ओलीले नेपालको सीमाको रक्षा गर्न र भारतद्वारा अतिक्रमित नेपाली भूमि फिर्ता लिन सरकार दृढतापूर्वक अघि बढने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

सोमबार बिहान आफ्नै सरकारी निवास बालुवाटारमा बसेको पार्टीको सचिवालय बैठकमा उनले भारतीय नक्सामा नेपालको भूमि समावेश गरिएको विषयमा नयाँदिल्लीस्थित राजदूतावासमार्फत् भारत सरकारको ध्यानाकर्षण गराइएको पनि जानकारी गराए ।

‘यसबारेमा हाम्रो नयाँ दिल्लीस्थित राजदुतमार्फत् भारत सरकारको ध्यानाकर्षण गराइएको छ’, प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै प्रवक्ता श्रेष्ठले भने, ‘ती समस्या समाधानका लागि छिट्टै उचित कुटनीतिक संयन्त्रमार्फत भारतसँग वार्ता प्रक्रिया अघि बढाइनेछ ।’

सोमबार नयाँ दिल्लीमा रहेको नेपाली राजदूतावासले पनि गएको शुक्रबार भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले भारतीय विदेश सचिव विजय गोखलेलाई भेटेर सीमा विवादका बारेमा कुरा गरेको जानकारी दिएको छ ।

बैठकमा प्रधानमन्त्री ओलीले द्विपक्षीय वार्ताका लागि नेपाल सरकारले आफ्नो आधिकारिक दस्ताबेज तयार पार्ने कामलाई पनि अघि बढाएको पार्टीको सचिवालय बैठकमा ब्रिफिङ गरेका थिए ।

भारतले हालै सार्वजनिक गरेको राजनीतिक नक्सामा नेपाली भूमि समावेश गरिएकोमा नेपाल सरकारले असहमति जनाइसकेको छ । उता, भारतले पनि समस्या समाधानका लागि सचिवस्तरीय वार्तामा बस्न सकिने जनाउ सरकारलाई दिइसकेको छ ।