काठमाण्डु– प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालको विस्तारित सेवा भवनको आज उद्घाटन गरेका छन् ।
भाटभटेनी सुपर मार्केटको सहयोगमा निर्मित सो भवन शिक्षण अस्पतालको ४३ औं वर्ष प्रवेशका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले सो भवनको उद्घाटन गरेका हुन् ।
कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाल सरकारले निरोगी नेपालको नाराका साथ काम गरेकोले सकभर बिरामी नहुने गरी आहार, बिहार र आराममा ध्यान दिने र बिरामी भइहालेमा गुणस्तरीय र सुलभरुपमा सेवा दिनुपर्ने बताए ।
उनले दु : ख गरेर धन कमाएर सामाजिक काममा दान गर्ने भाटभटेनीका संचालक मीनबहादुर गुरुङ र साबित्री गुरुङको प्रशंशा गरे ।
कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले एलोपेथिक चिकित्सा विज्ञान सम्बन्धी चिकित्सा ज्ञानका प्रादुर्भावकर्ता हिप्पोक्रेटस २४ सय वर्ष अगाडिका रहेका र नेपालमा ३ हजार वर्ष अगाडि नै सर्जरी नै विकास भइसकेको बताए ।
ओलीले भने ‘तीन हजार वर्षभन्दा अगाडि चतरामा विश्वामित्रका छोरा ऋषि सुश्रुतले सर्जरी सिकेका थिए, सर्जरी गरेका थिए । खेल्दाखेल्दै एउटा साथीको औंलो काटिएर छुट्टिएपछि उनले औंलो ल्याएर जोडेका थिए । त्यहाँबाट शल्यक्रियाको दृष्टान्त पाइन्छ ।’ ‘त्रेतायुगमा लक्ष्मण बेहोस हुँदा हनुमानले जडिबुटी खोजेर ल्याएर खुवाएका थिए । चार हजार वर्षभन्दा अगाडिको समयलाई त्रेतायुग भनिन्छ’ उनले भने, ‘त्यो समयमा पनि यहाँ स्वास्थ्य विज्ञानको, स्वास्थ्य अभ्यासको व्यवस्था विकास भएको थियो । त्यसपछि यहाँ धेरै यस्ता विधाहरू विकास भए ।’
चिकित्सा विज्ञानको आदिम र उद्गम स्थल यस ठाउँ अहिले पछाडि परिरहेको बताए ।




प्रतिक्रिया