प्रधानमन्त्रीले अध्यक्ष प्रचण्डलाई भने– पार्टी एकता तपाईसँग गरेको हो, झलनाथ र माधव नेपालसँग होइन

प्रधानमन्त्रीले अध्यक्ष प्रचण्डलाई भने– पार्टी एकता तपाईसँग गरेको हो, झलनाथ र माधव नेपालसँग होइन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली माधव नेपालसँग पावर सेयरिङ गर्ने तयारी गरेका छन् ।

बुधबार बालुवाटारमा बसेको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री अ‍ोलीलाई नेता माधव नेपालसँग पावर सेयरिङ गर्न प्रस्ताव गरेका थिए । अध्यक्ष प्रचण्डको प्रस्तावमा प्रधानमन्त्रीले मौन समर्थन जनाएको स्रोतले जानकारी दियो ।

अध्यक्ष प्रचण्डले नेता नेपाल समूहलाई बागमती प्रदेश र प्रदेश नम्बर ५ मध्ये एउटा प्रदेशमा मुख्यमन्त्री दिन प्रस्ताव गरेका थिए । सात प्रदेशमध्ये प्रधानमन्त्री अ‍ोली समूहबाट चार, अध्यक्ष प्रचण्ड समूहबाट २ र मधेशवादी दलबाट एक जना मुख्यमन्त्री छन् ।

प्रदेशमा बहुमत रहेका प्रधानमन्त्री ओलीले नेता नेपालसँग पावर सेयरिङ गर्न समर्थन जनाएको स्रोतले जानकारी दियो ।

यसअघि प्रधानमन्त्री अ‍ोलीले नेता नेपालसँग पावर सेयरिङ गर्न अस्वीकार गरेका थिए । प्रधानमन्त्री ओलीले अध्यक्ष प्रचण्डको प्रस्तावपछि नेता नेपाल समूहलाई बागमती र प्रदेश नम्बर ५ मध्ये कुनै एक प्रदेशमा मुख्यमन्त्री दिन सहमति जनाएका हुन् । पार्टीभित्र देखिएको विवाद समाधानका लागि प्रधानमन्त्री ओली अधिकतम लचकता अपनाउने मनस्थितिमा पुगेका हुन् ।

अध्यक्ष प्रचण्डको प्रस्तावपछि प्रधानमन्त्री ओलीले भने, ‘पार्टी एकता झलनाथ र माधव नेपालसँग गरेको होइन तपाईसँग गरेको हो ।’

प्रधानमन्त्री ओलीले दुवै पद नछोड्ने अडान लिएपछि प्रचण्ड र नेकपा वरिष्ठ नेता माधव नेपाल पार्टीभित्र पावर सेयरिङ गर्ने सहमतिमा पुगेका थिए । यसअघि दुवै अध्यक्षबीच मन्त्रिमण्डल पुर्नगठन गर्ने, मुख्यमन्त्री फेरबदल गर्ने, प्रधानमन्त्रीको सल्लाहकार समूह हेरफेर गर्ने विषयमा छलफल भएको थियो ।

नेता नेपालले प्रदेशमा आफ्नो समूहबाट उपस्थिति शून्य रहेको भन्दै असन्तुष्टी पोखेका थिए । उनको उक्त प्रस्ताव लिएर बालुवाटार पुगेका अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्रीले अरुकसैसँग पनि सम्झौता नगर्ने प्रस्ट पारेका थिए ।

यसअघि नेताहरुबीच एउटा प्रदेशमा नेता नेपाल समूहलाई मुख्यमन्त्री दिएर नेकपाभित्रको विवाद मत्थर पार्ने तयारी थियो ।

‘नोट अफ डिसेन्ट’ लेख्न अध्यक्ष प्रचण्डको प्रस्ताव

बुधबारको बैठकमा प्रधानमन्त्री ओलीसँग अध्यक्ष प्रचण्डले पार्टीभित्र सहमति नभएका विषयमा ‘नोट अफ डिसेन्ट’ लेख्ने प्रस्ताव गरेका थिए । बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको बैठकमा अध्यक्ष प्रचण्डले ओलीसँग अधिकतम लचकता अपनाएर सहमति खोज्ने प्रयास गरेका थिए ।

प्रधानमन्त्री ओलीले दुईवटै पद नछोड्ने अडान लिएपछि सहमतिका लागि अध्यक्ष प्रचण्डले लचकता अपनाएका हुन् । त्यस्तै अध्यक्ष प्रचण्ड पार्टीको विवाद समाधानका लागि अधिकतम लचकता अपनाएर अघि बढ्ने आफू निकट नेताहरुलाई बताएका छन् ।

उनले प्रधानमन्त्रीको अडान यथावत रहेकाले एक जनाले अधिकतम लचकता अपनाएर पार्टी एकतालाई जोगाउनुपर्ने बताएका छन् । उनले पार्टीका वरिष्ठ नेता नेपाललाई पनि सहमति गराएर लैजानुपर्ने बताउँदै आएका छन् ।

नेकपा स्थायी कमिटी सदस्यहरुले प्रधानमन्त्रीले दुईमध्ये एक पद छोड्नुपर्ने माग राखेपछि चर्किएको नेकपाभित्रको विवाद अझै साम्य हुन सकेको छैन् ।

नेकपा स्थायी कमिटीका बहुमत सदस्यहरुले प्रधानमन्त्रीको राजीनामा मागेपछि फुटको संघारमा पुगेको नेकपाको विवाद साम्य पार्न नेताहरुले नेतृत्वलाई दबाब दिँदै आइरहेका छन् ।

असार २० गतेबाट स्थगित भएको स्थायी कमिटी बैठक नेताहरुबीच सहमति हुन नसक्दा पटपटक स्थगित हुँदै आएको छ । नेकपा स्थायी कमिटी बैठक साउन २ गते अर्थात भोलीका लागि बोलाइएको छ ।