आमसभा र सिटी हलको शिलान्यास गर्न चितवन जाँदै प्रधानमन्त्री ओली

आमसभा र सिटी हलको शिलान्यास गर्न चितवन जाँदै प्रधानमन्त्री ओली

शिलान्यासबारे प्रचण्ड–नेपाल समूहको आपत्ति


काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओली आज शनिबार चितवन जाँदैछन् । प्रतिनिधिसभा विघटनपछि प्रधानमन्त्री ओली पहिलोपटक नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको गृहनगर चितवन जान लागेका हुन् ।

प्रधानमन्त्री ओलीसँग वरिष्ठ मन्त्रीहरु उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा ‘बादल’, भौतिक योजना पूर्वाधार तथा यातायात मन्त्री बसन्त नेम्वाङ, शहरी विकास मन्त्री प्रभु शाह, राज्यमन्त्री रामवीर मानन्धर पनि चितवन जाँदैछन् ।

ओलीले नेकपा चितवनले केन्द्रीय बस टर्मिनलमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्ने कार्यक्रम छ । जनसभालाई प्रधानमन्त्री ओलीसहित उपप्रधानमन्त्री पोखरेल, गृहमन्त्री थापा लगायतले सम्बोधन गर्ने कार्यक्रम छ ।

त्यसअघि प्रधानमन्त्री ओलीले भरतपुरमा निर्माण हुन लागेको सिटी हलको शिलान्यास गर्नेछन् । पूर्वपश्चिम राजमार्गअन्तर्गतको पुल्चोक–गोन्द्राङ ६ लेन सडक विस्तारको शुभारम्भ पनि प्रधानमन्त्रीले गर्ने कार्यक्रम तय भएको छ ।

यता शिलान्यास कार्यक्रमप्रति भने भरतपुर महानगरपालिका र नेकपाको प्रचण्ड–नेपाल समूहले आपत्ति जनाएको छ । भरतपुर महानगरपालिकाका मेयर रेनु दाहालले यी ओयाजनाहरु महानगरपालिकाको योजनामा अगाडि सारेर महानगरपालिकाकै सक्रियतामा बजेट प्रबन्ध भएको बताएकी छन् ।

महानगरको दोस्रो नगरसभाले नै यी योजनाहरु परित गरेको उनले जानकारी दिएकी छन् । तर आजको शिलान्यास कार्यक्रममा महानगरसँग कुनै समन्वय र सहकार्य नगरिएको उनले बताइन् ।

‘भरतपुर महानगरपालिकालाई निषेध गरेर संघीयताको मूल मर्मविपरीत केन्द्रीकृत शासनको झल्को दिने गरेर संघीय सरकारले गम्भीर विभेद गरेको छ । स्थानीय सरकारको अधिकारमाथि ठाडो हस्तक्षेप भएको छ,’ मेयर दाहालले जारी गरेको प्रेस विज्ञप्तीमा भनिएको छ ।

यसअघि शिलान्यासका लागि भएको आग्रह सुनुवाइ नभएको तर परिस्थिति अनुकुल नभएका समयमा राखेको कार्यक्रम महानगरले बहिष्कार गर्ने उनले बताएकी छन् ।

मेयर रेनु नेकपाको केन्द्रीय सदस्य तथा भरतपुर महानगरपालिका इन्चार्ज पनि हुन् । प्रधानमन्त्रीको शिलान्यास कार्यक्रमप्रति नेकपाको प्रचण्ड–नेपाल समूहको चितवन जिल्ला कार्यसमितिले पनि विरोध जनाएको छ । शिलान्यास कार्यक्रम ‘नौटंकीयुक्त कार्य’ भन्दै यसको विरोध गर्ने पार्टीका जिल्ला अध्यक्ष यमबहादुर परियार इन्द्रजित र सचिव कृष्णभक्त पोखरेलले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।