काठमाण्डु-कृषि तथा पशुपन्छी मन्त्रालय अन्तर्गतका कृषि प्राविधिक समूहतर्फका कर्मचारीहरूको आन्दोलन आज पनि जारी छ ।
नेपाली काँग्रेस र नेकपा एमालेको सरकार बनेपछि कृषि तथा पशुपन्क्षी विकासमन्त्रीको रूपमा मन्त्रालय सम्हालेका रामनाथ अधिकारीले समस्या समाधानको लागि केही समय दिन माग गरेपछि आन्दोलन स्थगित गरेका कर्मचारीहरूले बुधवारबाट पुनः आन्दोलन सुरु गरेका छन् ।
आफूहरूको मागको सम्बन्धमा कुनै चासो नदिएका कारण आन्दोलन पुनः सुरु गरेको उनीहरूले बताएका छन् ।
कर्मचारीहरू समायोजनपछि बढुवा नभएको भन्दै उनीहरू मन्त्रालयको प्रवेशद्वारमा धर्ना बसेका छन् । सङ्घमा समायोजन भएका कृषि सेवाअन्तर्गत कृषि तर्फका थप समायोजन भएको जनशक्ति रहेको ३२८ जना समेतको स्थायी दरबन्दी कायम गरी रिक्त पदमा नियमित पदपूर्ति हुने व्यवस्था गर्नुपर्नेजस्ता माग राखेर कर्मचारी आन्दोलित भएका हुन् ।
उनीहरूले सङ्घमा समायोजन भएका कृषि सेवाअन्तर्गत कृषितर्फका प्राविधिक कर्मचारीहरूको न्यायोचित वृत्ति विकास सुनिश्चित हुनुपर्ने र कृषि सेवाको कृषि तर्फका समूहको हकमा सर्वोच्च अदालतबाट रिक्त रहेको पदमा पदपूर्ति हुन भएको परमादेश कार्यान्वयन हुनुपर्ने माग पनि राखेका छन् ।
धर्नामा बसेका कर्मचारीहरूले समायोजनमा चाहिनेभन्दा बढी संख्यामा केन्द्रमा कर्मचारी राखिएका कारण वृत्ति विकासमा समस्या भएको भन्दै दरबन्दी प्राप्तिका लागि ताकेता गर्दा पनि सुनुवाइ नभएपछि बाध्य भएर आन्दोलनमा उत्रनुपरेको बताए ।
प्रतिक्रिया