काठमाण्डु – नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले जनताको अधिकारलाई बाहिर राखेर लोकतान्त्रिक समाजवादको कल्पना गर्न नसकिने बताएका छन् ।
जननायक विश्वेश्वरप्रसाद कोइरालाको १११औं जन्मजयन्तीका अवसरमा संवाद केन्द्रले शनिबार आयोजना गरेको ‘लोकतान्त्रिक समाजवाद र आजको परिस्थिति’ विषयक अन्तर्क्रियामा उनले बीपी कोइरालाले भनेजस्तै जनताको शासन सत्तामा प्रत्यक्ष पहुँच भए मात्र लोकतान्त्रिक समाजवादको कल्पना पूरा हुने बताए ।
‘आवधिक निर्वाचनमार्फत जनताले आफ्ना प्रतिनिधि रोज्ने र प्रतिनिधिमार्फत शासन चलाउने हो, जनताले प्रतिनिधिमार्फत आफ्नो शासन गर्ने हो, लोकतान्त्रिक शासन पद्धति भनेको यही हो,’ उनले भने । कांग्रेस र कम्युनिष्टबीच लोकतान्त्रिक समाजवादका बारेमा भिन्दाभिन्दै व्याख्या रहेको उनको भनाइ थियो ।
कांग्रेसका पूर्व महामन्त्री सिटौलाले विक्रम संवत् २०४६ सालदेखि कम्युनिष्टलाई शान्ति र लोकतन्त्रको बाटोमा हिँडाउन कांग्रेसले नेतृत्व गरेको बताए । उनले बीपी कोइराला गतिशील विचार भएको नेता भएको बताए ।
कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ले नेपाली कांगे्रसको विधानले बीपी कोइरालालाई स्पष्ट रूपमा चिनेको बताए । बीपी कोइरालाले दिएको विचार र आदर्शबाट पार्टी अहिले अगाडि बढेको उनको भनाइ थियो । नेत्री उपाध्यायले सत्ता बाहिर होस् या सत्तामा होस् कांग्रेसले सधैं बीपीको विचारलाई अगाडि बढाउनुपर्ने धारणा राखे । स्थानीय तह बलियो भए मात्र देशको विकास हुने उनको भनाइ थियो ।
वन तथा वातावरण राज्यमन्त्री रूपा विश्वकर्माले बीपी कोइरालाले अगाडि सारेको लोकतान्त्रिक समाजवादको नीतिका कारण संविधानमा हरेक जातजाति र समुदायको प्रतिनिधित्व भएको उल्लेख गरेका छन् ।
कांग्रेसका केन्द्रीय सदस्य एवं बागमती प्रदेशका आर्थिक मामिलामन्त्री कुन्दनराज काफ्लेले बीपीले देखेको लोकतान्त्रिक समाजवादको सपना कांग्रेसले पूरा गर्दै लगेको बताए । उनले राज्यमा जबसम्म गरीब तथा विपन्न वर्गको उपस्थिति हुँदैन, तबसम्म बीपीको सपना पूरा नहुने भएकाले त्यसलाई पूरा गर्न लाग्नुपर्ने उल्लेख गरे ।
कांग्रेस कोशी प्रदेशका महामन्त्री एवं कोशी प्रदेशका भौतिक पूर्वाधार मन्त्री भुपेन्द्र राई, कांग्रेस बागलुङका सभापति जीतबहादुर शेरचन लगायतले संविधानले दिएको अधिकार पूरा गर्न सके बीपी कोइरालाले देखेको लोकतान्त्रिक समाजवादको सपना पूरा हुने बताएका थिए ।




प्रतिक्रिया