काठमाडौं – संसद सचिवालयकी कर्मचारीमाथि बलात्कारको आरोपमा प्रहरी हिरासतमा रहेका पूर्वसभामुख कृष्णबहादुर महरामाथि जबरजस्ती करणी उद्योगमा मुद्दा चलाइने भएको छ । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले जबरजस्ती करणी प्रयासको आरोप लागेका महराविरुद्ध मुद्दा चलाउने निर्णयमा पुगेको हो ।
प्रहरीले महरामाथि अनुसन्धान गरी कैद तथा जरिवाना हुनुपर्ने निष्कर्षसहितको प्रतिवेदन शुक्रबार बुझाएको थियो ।
२० दिन लामो अनुसन्धानबाट महराले संसद सचिवालयकी कर्मचारी रोशनी शाहीलाई जबरजस्ती करणी उद्योग गरेको पुष्टि भएको प्रहरीले जनाएको थियो ।
महराको मूल कसुर मुलुकी अपराध संहिता ०७४ को दफा २१९ को जबरजस्ती करणीसम्बन्धि दफा आकर्षित हुने गरि अभियोगपत्र तयार गरिएको छ । जसमा १८ वर्षमाथिको महिलालाई बलात्कार गरेमा ७ देखि १० वर्ष जेल सजाय हुने व्यवस्था छ ।
बलात्कार प्रयासको हकमा भने अधिकतम १० वर्षको आधा ५ वर्ष जेल सजाय माग गरिने जिल्ला सरकारी वकिल कार्यालय स्रोतले जनाएको छ ।
त्यसमा थप फौजदारी कसुर सजाय निर्धारण तथा कार्यान्वयन ऐनको दफा १५ पनि आकिर्षत हुने गरि अभियोगपत्र तयार भएको छ ।




प्रतिक्रिया