कृष्णबहादुर महराः नेता प्रचण्ड पार्टीको, प्रचार विप्लवको

कृष्णबहादुर महराः नेता प्रचण्ड पार्टीको, प्रचार विप्लवको

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – तत्कालीन नेकपा माओवादी शान्तिप्रक्रियामा आउनुअघि सरकारसँग वार्ताका लागि टोली संयोजक भएर आउँथे कृष्णबहादुर महरा । माओवादी आन्दोलनको संसदीय मोर्चामा महरालाई अब्बल खेलाडी मानिन्छ ।

संसदीय मोर्चामा अब्बल खेलाडी भएकै कारण उनले सत्ताको स्वाद पनि राम्रैसँग चाख्न पाए । पटक–पटक मन्त्री हुने अवसर पाए, प्रतिनिधिसभा संसदको सर्वाेच्च पद सभामुख समेत बने ।

माओवादीका सुप्रिमो पुष्पकमल दाहाल ‘प्रचण्ड’ निकट रहेर अवसर र जिम्मेवारी पाउँदै आएका महरालाई त्यतिबेला ठूलो धक्का लाग्यो, जतिबेला उनी बलात्कार प्रयासको अभियोगमा पक्राउ परे । भलै उनको अभियोग पृष्टि भएन, जिल्ला अदालत काठमाण्डुबाट महराले सफाइ पाए । तर, महरामाथि अभियोग लाग्दा, षड्यन्त्रको शंका भइराख्दा उनका पक्षमा बोलिदिने कोही भएन ।

माओवादीका शीर्ष नेताभित्रै पर्ने महरालाई गम्भीर अभियोग लाग्दासमेत देशभर संगठन भएको माओवादीका कसैले पनि चुइँक्क बोलेनन्, अध्यक्ष प्रचण्ड नै पनि रमिते भइरहे । प्रचण्डले समेत कुनै पहल गर्न सकेनन् । महराले अदालतबाट ‘न्याय’ पाएपनि कार्यकर्ता र नेताबाट ‘न्याय’ नपाएको चर्चा माओवादीभित्र चल्ने थालेको छ ।

‘महरा सरमाथि आरोप लाग्दा उहाँको पक्षमा कसैले किन आवाज उठाएनन्, उहाँको पक्षमा बोलिदिने कार्यकर्ता किन भएनन् ? महरा सरले यसबारे गम्भीर समीक्षा गर्नुपर्ने हो,’ माओवादीका एक स्थायी कमिटी सदस्यले भने ।

महराले अध्यक्ष प्रचण्डसँग नजिक रहेर फाइदा र अवसर लिने गरेको भएपनि कार्यकर्तालाई खासै वास्ता नगर्ने प्रवृत्ति रहेको जानकारहरू बताउँछन् । स्रोतका अनुसार महरा सत्ता खेलाडी त हुन् तर, कार्यकर्ता र जनस्तरमा भिज्न सकेका छैनन् । त्यतिमात्र होईन महरा लामो समय सत्तामा बसेका भएपनि उनले गरेको सम्झना लायक काम भने अहिलेसम्म एउटा पनि देखिदैन ।

माओवादीभित्रै वर्षमान पुन ‘अनन्त’ र जनार्दन शर्मा ‘प्रभाकर’ कार्यकर्तालाई संरक्षण र संगठन गर्ने मामिलामा अब्बल छन् । माओवादीमा पुन र शर्माभन्दा पनि ‘सिनियर’ महरा कार्यकर्तालाई संरक्षण र संगठन गर्ने मामिलामा चुकेका छन् । अदालतबाट सफाइ पाएपछि महरा केही हप्ता दाङ र रुकुम–रोल्पामा कार्यकर्ता र जनतामाझ बसे, दुःखसुख साटासाट गरे । तर महरा फेरि पुरानै खेलमा सक्रिय हुन थालेको चर्चा माओवादीभित्र छ ।

नेकपा एकीकरणपछि ओझेलमा परेका महरालाई सर्वाेच्च अदालतले नेकपा माओवादी ब्यूँताइदिएपछि सक्रिय हुन सजिलो भएको छ । पुरानै सम्पर्क र सम्बन्ध सुत्रमा ‘खुरापाती’ गर्न महरालाई सहज भएको माओवादी स्रोतले जनाएको छ । ‘कमजोर अवस्थामा पुगेको माओवादी संगठनलाई कसरी मजबुत बनाउने, कार्यकर्तालाई कसरी पार्टीमा टिकाइराख्ने योजना बनाउनुभन्दा पनि महरा सर अहिले आफु निकट र पार्टीकै अन्य नेताहरुलाई अव नेता विप्लव नै भएको भन्दै प्रचारमा लाग्नुभएको छ,’ स्रोतले भन्यो ।

नेकपा माओवादी केन्द्रमा हाल रहेको संगठन, नेता र कार्यकर्ताको व्यवस्थापनभन्दा महरा अब नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासँग मिल्नुपर्ने वा उनकै पार्टीमा भविष्य भएको भन्दै त्यही मिसनमा सक्रिय छन् । महराले बुधबार नख्खु जेल पुगेर विप्लव नेकपाका नेता हेमन्तप्रकाश वलीलाई भेटेका छन् । भेटमा प्रचण्ड र विप्लवबीच पार्टी एकीकरण हुनुपर्ने विषयमा कुराकानी भएको स्रोतले जनाएको छ । त्यतिमात्र होईन विप्लव पनि सार्वजनिक भएलगत्तै उनकै निवासमा भेट्न पुगेका थिए । विप्लव महराका विद्यार्थी समेत हुन ।

महराले हालै प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा रहेका एक जना पूर्व माओवादी मन्त्रीलाई भेटेर अबको नेता विप्लव भएको तर्क गरेको स्रोतको दावी छ । प्रचण्डसँग असन्तुष्ट ती मन्त्रीलाई भेटेर महराले विप्लवलाई नेता मानेर अगाडी बढौं भन्ने प्रस्ताव राखेको मन्त्री निकट स्रोतले काठमाण्डुपाटीलाई बतायो । ओली सरकारमा रहेका ती मन्त्री एमालेमा केन्द्रीय कमिटी सदस्य मनोनित भइसकेका छन् ।

अध्यक्ष प्रचण्ड निकट रहेरसक्रिय भएका महराले ती मन्त्रीसँग प्रचण्डकै आलोचना गरेको स्रोतले जनाएको छ । ‘उहाँ (महरा) जो मान्छे भेटिन्छ, उससँग उस्तै कुरा गर्नुहुन्छ । उहाँ प्रचण्ड कमरेडको मान्छे हो भनेर सबैलाई थाहा छ, तर परे प्रचण्डकै आलोचना गर्नुहुन्छ ’ स्रोतले भन्यो, ‘विप्लवलाई जसरी पनि एकतामा ल्याएर माओवादीलाई बलियो बनाउने नभए विप्लवकै पार्टीमा सक्रिय हुने मिसनमा उहाँ लाग्नुभएको छ, अहिले माओवादीमै भएका नेताहरूको जिम्मेवारी बाँडफाँड, कार्यविभाजन, संगठन परिचालनमा नेताहरूको ध्यान छैन ।’

महरालाई यसबारेमा काठमाण्डुपाटीले सम्पर्क गर्दा आफू बैठकमा रहेको भन्दै उक्त विषयमा बाेल्न चाहेनन् । प्रचण्ड निकट रहेर महरा पटक–पटक विवादमा तानिँदै आएका छन् । महराले एक चिनियाँ व्यवसायीसँग ५० करोड मागेको अडियो टेप सार्वजनिक भएको थियो । २०६७ भदौ १८ गते सार्वजनिक भएको अडियोमा माओवादी नेता कृष्णबहादुर महरा र एक चिनियाँ व्यापारीबीच गम्भीर खालको संवाद भएको सुन्न सकिन्छ । उक्त अडियो भारतीय दूतावासको योजनामा सार्वजनिक भएको थियो ।

अडियोमा महराले प्रधानमन्त्रीको निर्वाचनका लागि ५० सांसद खरिद गर्नुपर्ने र त्यसका लागि ५० करोड नेपाली रुपैयाँ आवश्यक परेको बताएका थिए । पटक–पटक गोप्य रूपमा हुने गरेका विदेश भ्रमणमा समेत महरा मुछिँदै आएका छन् । उनले सिंगापुर र मलेसिया पुगेर भारतीय प्रधानमन्त्रीका डेपुटी एनएसए एवि माथुरलगायतसंग भेटवार्ता गर्ने गरेको उनी निकट स्रोतले जानकारी दियो । २०१६ मा हालका प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा सरकार हुंदा महरा भारत पुगेर सरकार ढाल्ने योजना बनेको थियो । महरासहित तत्कालिन भारतका लागी नेपाली राजदूत दिपकुमार उपाध्याय र भारतको विदेश मन्त्रालयमा नेपाल र भुटान हेर्ने सहसचिव अभय ठाकुरलगायत मिलेर तत्कालिन ओली नेतृत्वको सरकार ढालिएको थियो ।