काठमाण्डु – विद्युतीय चुरोट (भेप)मा लुकाएर तीन वर्षअघि सुन तस्करी गराएको प्रकरणमा पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध भ्रष्टाचार मुद्दाको फाइल फेरि खुलेको छ ।
सुन तस्करी प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महरामाथि अनुसन्धान सुरु गरेको हो ।
प्रकरणमा उनलाई प्रहरी र जिल्ला सरकारी वकिल कार्यालय काठमाण्डुले उन्मुक्ति दिएको थियो । तर, चिनियाँ संगठित गिरोहसँग मिलेर तस्करी गरेको आरोप लागेका महरामाथि अख्तियारले भने अनुसन्धान अघि बढाएको हो । अनुसन्धानका क्रममा महरालाई बिहीबार टंगालस्थित कार्यालयमा बोलाएर अख्तियारले बयानसमेत लिइसकेको छ ।
महरामाथि सुन तस्करी प्रकरणमा २०७९ मै अनुसन्धान सुरु भएको थियो । तर, पहिलो पटक उनीविरुद्ध मुद्दा नै दर्ता भएन ।
महरालाई यसअघि २०८० चैत ५ गते नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पनि यसै प्रकरणमा पक्राउ गरेको थियो । कपिलवस्तुबाट पक्राउ गरी काठमाण्डु ल्याइएपछि अदालतको अनुमतिमा प्रहरीले ५ दिनसम्म हिरासतमा राखे पनि मुद्दा नचलाएर छाडेको थियो ।
त्यसबेला पनि उनलाई चैत ९ गते जिल्ला सरकारी वकिल काठमाण्डुले हाजिरी जमानीमा छोडेको थियो । त्यसपछि अनुसन्धान रोकिएको थियो । तर, हाल अख्तियारले पुनः अनुसन्धान थालेको छ ।
अख्तियारसँग दिएको बयानमा महराले सुन तस्करीका नाइके भनिने दावाजिन वाङसँग चिनजान रहेको र उनको आग्रह अनुसार नै भन्सारका कर्मचारीलाई भेप छुटाउन फोन गरेको स्वीकार गरेका छन् ।
२०७९ पुस १० गते चिनियाँ नागरिक ली हानसोङले फ्लाई दुबईको उडानबाट भेपको ७३ वटा बट्टामा ७ सय ३० थान भेपमा करिब ९ किलो सुन लुकाएर ल्याएका थिए । हाल सोही प्रकरणमा महराको संलग्नता देखिएको भन्दै अनुसन्धान अघि बढाएको अख्तियारका एक अधिकारीले बताएका छन् ।
उनी नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष पनि हुन् । अख्तियारले महरासँग लिएको बयान सकिएको छ । बयान सकिएपछि अब उनीविरुद्ध मुद्दा चलाउने तयारी अख्तियारको छ ।
भेपमा सुन तस्करी गरेको अभियोगमा महराका छोरा राहुल महरा पहिले नै पक्राउ परेका थिए । भेपको ९ किलो सुन तस्करीमा संलग्न चिनियाँ नागरिकसँग सम्पर्क देखिएको र उक्त सुन विमानस्थल भन्सार कार्यालयबाट छुटाउन कर्मचारीलाई टेलिफोन गरेको अनुसन्धानबाट देखिएको छ ।




प्रतिक्रिया