कृष्णभीरमा त्रिशूलीको कटान तीव्र, नयाँ ट्रयाक नै जोखिममा

कृष्णभीरमा त्रिशूलीको कटान तीव्र, नयाँ ट्रयाक नै जोखिममा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धादिङ– त्रिशूली नदीमा पानीको बहाव बढेसँगै पृथ्वीराजमार्गअन्तर्गत कृष्णभीरमा करिब दुई साताअघि खोलिएको नयाँ ट्रयाकसमेत जोखिममा परेको छ ।
ट्रयाकको तल्लो भागबाट नदीले तीव्र रूपमा कटान गरिरहेकाले सडक भासिने खतरा बढेको हो ।

नयाँ ट्रयाक खोलिएको स्थानको तलतिरबाट त्रिशूलीले निरन्तर जमिन कटान गरिरहेको छ । नदीको बहाव बढ्दै गएमा ट्रयाकको आधार नै कमजोर भएर बग्न सक्ने जोखिम देखिएको छ ।

कृष्णभीरमा यसअघि पहिरोका कारण पृथ्वीराजमार्ग अवरुद्ध भएपछि सडक विभागले मुख्य सडकभन्दा माथिल्लो भागबाट नयाँ ट्रयाक खोलेर यातायात सञ्चालनमा ल्याएको थियो । करिब २ सय ७० मिटर लामो उक्त नयाँ ट्रयाकबाट असोज १ गतेदेखि दुईतर्फी सवारी सञ्चालन गरिएको थियो ।

तर, नयाँ ट्रयाक सञ्चालनमा आएको केही दिनमै यसको तल्लो भागमा नदी कटान बढेपछि वैकल्पिक रूपमा खोलिएको सडक पुनः जोखिममा परेको हो ।

कृष्णभीरको मूल सडकमा यसअघि त्रिशूली नदीको कटानपछि ठूलो पहिरो गएको थियो । त्यसपछि सडक सम्पर्क नै विच्छेद भएपछि तत्काल यातायात सञ्चालनका लागि नयाँ ट्रयाक निर्माण गरिएको थियो । अहिले त्यही ट्रयाकको तलबाट नदीले कटान तीव्र पारेको छ ।

हाल कृष्णभीर क्षेत्रमा पहिरोका कारण यातायातसमेत प्रभावित छ । नदीको बहाव थप बढेमा नयाँ ट्रयाकमा समेत क्षति पुगेर पृथ्वीराजमार्गको आवागमनमा थप समस्या आउन सक्ने जोखिम देखिएको छ ।

कृष्णभीरको नयाँ ट्रयाकलाई तत्कालीन समाधानका रूपमा प्रयोग गरिएको भए पनि यसको दीर्घकालीन सुरक्षामाथि सुरुदेखि नै प्रश्न उठ्दै आएको थियो। विज्ञहरूले कमजोर भूबनोट भएको क्षेत्रमा खोलिएको अस्थायी ट्रयाकलाई बलियो बनाउन तत्काल आवश्यक संरचना निर्माण गर्नुपर्ने सुझाव दिएका थिए ।

कृष्णभीरमा दीर्घकालीन समाधानका रूपमा सुरुङ, बाइपास पुल तथा त्रिशूलीपारिको वैकल्पिक सडक स्तरोन्नतिको विकल्पसमेत अध्ययन भइरहेको छ ।