काठमाण्डू– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा ) सांसद कृष्णकुमार कार्की विदेशी महिलालाई गर्भवती बनाएर सम्पर्कविहीन भएको भन्ने विषयले संसदमा प्रवेश पाएको छ ।
मंगलबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै प्रमुख प्रतिपक्षी काँग्रेस सांसद निनुकुमारी कर्णले नाइजेरियन महिलालार्ई गर्भवती बनाएर कार्की सम्पर्कविहीन भएको विषयमा छानबिन गरी कार्की दोषी देखिए कारबाहीको माग गरिन् ।
विदेशी महिलालाई प्रेम जालमा फसाएर गवर्भवती बनाउने र त्यसपछि भाग्ने सांसदले आफ्नो मुलुकको नागरिकलाई कसरी सुरक्षा दिन सक्छ भन्दै प्रशन गरिन् । घटनाले प्रत्येक नारी शक्तिको मनमा गम्भीर प्रश्न उठेको उनको भनाइ थियो ।
‘सम्माननीय सभामुख महोदय, एक नाइजेरियन महिलाले आफू गर्भवती भएको अवस्थामा सम्बन्धित सांसद सम्पर्कविहीन भएको अवस्थामा सडकमा न्याय खोजिरहेकी छिन्’, कर्णले भनिन्, ‘एउटा विदेशी नागरिक महिलालाई प्रेम जालमा फसाउने, भावनात्मक ‘ब्ल्याकमेल’ र जालझेलमा फसाएर अलपत्र पार्ने जनप्रतिनिधिले आफ्नो राष्ट्रको नागरिकलाई कसरी सुरक्षा दिन सक्छ ? यो घटनाले आज प्रत्येक नारी शक्तिको मनमा गम्भीर प्रश्न उठेको छ ।’
उनले उक्त घटना सत्य हो भने केबल व्यक्तिगत नैतिकताको प्रश्न नभई विश्ससनीयतासँग जोडिएको विषयमाथि नै गम्भीर प्रश्न भएको बताइन् ।
‘कहिलेम्म नारीहरुको अस्मितामाथि यस्ता किसिमका प्रहार सहने हामी महिलाहरु ? पीडित महिलालाले न्याय पाउनुपर्छ, दोषी भए कारबाही हुनुपर्छ । त्यसैले म सम्मानीय सभामुखमार्फत सरकारसँग यथाशिघ्र यस विषयमा सत्यतथ्य सांसदलाई जानकारी गराउन माग गर्दछु ।’
कार्कीले आफ्नो चाहनाविपरीत गर्भवती बनाएको र हाल सम्पर्कविहीन भएका कारण खाना र औषधिको समेत अभाव झेलिरहेको भन्दै सामाजिक सञ्जालमार्फत न्यायका लागि गुहारेको विषयमा सञ्चार माध्यममा समाचार आएको थियो । आफूबारे समाचार आएपछि सांसद कार्की संसद बैठकमा उपस्थित भएका छैनन् ।
सोमबार बोल्ने पालो रहेका कार्कीको नाम सभामुख डोलप्रसाद अर्याल (डिपी) ले तीनपटकसम्म नाम बोलाएका थिए । तर, कार्की बैठकमा थिएनन् ।




प्रतिक्रिया