सभामुख महरालाई भेटे कतार र उत्तरकोरियाली राजदूतलेः नेपाली कामदारको सुरक्षाको चासो


काठमाडौं– सभामुख कृष्णबहादुर महरासँग नेपालका लागि कतार र उत्तर कोरियाका राजदूतले छुट्टाछुट्टै भेटवार्ता गरेका छन्।

सभामुखको कार्यकक्ष सिंहदरबारमा आइतबार कतारका राजदूत युसुफ बिन मोहम्मद अल र उत्तर कोरियाका राजदूत चोय तेइ पोकले छुट्टाछुट्टै भेटवार्ता गरेका हुन्।

सभामुख महराले दुवै राजदूतसँगको भेटमा संसदीय सम्बन्धलाई प्रगाढ बनाउन संसद–संसद्बीच प्रगाढ सम्बन्ध स्थापना गर्ने बारेमा पहल गर्नुपर्ने बताए।
भेटघाटका क्रममा दुवै देशका राजदूतले सभामुख पदमा निर्वाचित भएकामा महरालाई बधाई र शुभकामना व्यक्त गरे।

सभामुख महराले कतारमा अहिले चार लाख बढी नेपाली कामदारहरु रहेको भन्दै उनीहरुको रोजगारीको सुनिश्चिता र सुरक्षाका बारेमा चासो व्यक्त गरे। सभामुखसँगको भेटमा कतारका राजदूतले नेपाल र कतारको सम्बन्ध राम्रो रहेको भन्दै आगामी दिनमा अझै सम्बन्ध विस्तार गरेर लैजाने बताएका थिए।

यसैगरी सभामुख महराले उत्तर कोरियाका राजदूतसँगको भेटमा प्रजातान्त्रिक कोरिया र नेपालको सम्बन्ध थप सुदृढ होस् भन्ने चाहेको बताए। पछिल्लो समय वार्ताका माध्यमबाट दक्षिण कोरियासँगको सम्बन्ध सुध्रिदै गएकोमा खुसी व्यक्त गर्दै सभामुख महराले शान्तिका लागि भइरहेको प्रयास सफल हुनेमा विश्वास व्यक्त गरे।

सो अवसरमा उत्तर कोरियाका राजदूत चोय तेइ पोकले सभामुखमा निर्वाचित भएकोमा बधाई व्यक्त गर्दै उत्तर कोरियाको ‘सुप्रिम एसेम्बली’का अध्यक्षको तर्फबाट प्राप्त भएको बधाई सन्देश सुनाए।

प्रतिक्रिया दिनुहोस
Advertisement