काठमाडौं – यौन दुर्व्यवहार गरेको आरोपमा मुद्दा खेपिरहेका निवर्तमान सभामुख कृष्णबहादुर महराले आइतवारको थुनछेक बहस स्थगित भएको छ । जिल्ला अदालत काठमाडौंमा थुनछेक बहस गर्दागर्दै कार्यालय समय सकिएपछि थप बहस सोमवार गर्ने गरी इजलास स्थगित भएको हो । सोमवार पुनः बहस भएपछि अदालतले आदेश सुनाउने जनाइएको छ ।
बहस नसकिएपछि अदालतले महरालाई आज पनि प्रहरी हिरासतमै पठाएको छ । शुक्रवारदेखि शुरू भएको मुद्दाको कारवाही प्रक्रियामा अभियुक्तको बयानपछि आइतवार वकिलको बहस भएको छ । आइतवार सरकारी वकिल कार्यालयको बहस सकिएर महराको तर्फबाट अधिवक्ता भेषराज आचार्य र लभप्रसाद मैनालीले मात्रै बहस गरेका थिए ।
बयानमा महराले आफू सो दिन बेलुका रोशनी शाही नाम गरेकी ती महिला कर्मचारीको डेरा रहेको क्षेत्रमा गएको तर घरभित्र प्रवेश नगरेको जिकिर गरेका छन् ।
थुनछेक बहसमा महराका तर्फबाट बहस गर्न २७ जना वकिलले वकालतनामा लिएका छन् ।




प्रतिक्रिया