प्रतिनिधिसभाको चुनावमा कांग्रेस एक्लै जान्छ, राष्ट्रियसभाकाे आज टुंगो लाग्छ : सिटौला

प्रतिनिधिसभाको चुनावमा कांग्रेस एक्लै जान्छ, राष्ट्रियसभाकाे आज टुंगो लाग्छ : सिटौला

अब विशेष महाधिवशेनको औचित्य छैन


काठमाण्डु– नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले विशेष महाधिवेशनको औचित्य नभएको बताएका छन्।

सोमबार काठमाण्डुमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता सिटौलाले विशेष महाधिवेशनको औचित्य सकिएको बताएका हुन् ।

उनले भने ‘अब विशेष महाधिवशेनको औचित्य छैन,पर्सि विशेष महाधिवेशन हुँदैन। ‘जबसम्म क्रियाशील सदस्यता टुंगिँदैन, तबसम्म महाधिवेशनको कार्यक्रम अघि बढ्दैन ।

यस्तै सिटौलाले प्रतिनिधि सभाको निर्वाचनमा कांग्रेस एक्लै चुनावमा जाने बताए ।

‘प्रतिनिधि सभाको चुनावमा हामी एक्लै जाने हो,’ सिटौलाले भने, ‘अहिलेसम्म एक्लै चुनावमा जानुपर्छ भन्ने छ। पार्टीको बटम लाइन त्यही हो। प्रष्ट दृष्टिकोण र विचार सहित चुनावमा जानुपर्छ,’ सिटौलाले भने, ‘अहिलेसम्म प्रतिनिधि सभाको चुनावमा एक्लै जाने भन्नेछ।’

राष्ट्रियसभा निर्वाचनबारे कांग्रेसले अन्य पार्टीहरूसँग छलफल गरिरहेको पनि उनले बताए ।

उनले भने ‘कुन कुन पार्टीसँग गठबन्धन हुने, क्लष्टर के हुने भन्नेमा आज टुंगो लाग्छ । आजको कार्यसम्पादन समितिमा छलफल हुन्छ । एक्लै लड्दा परिणाम नआउने भएकाले राष्ट्रियसभामा गठबन्धन गर्ने कुरा भएको हो । राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सबै दलहरूसँग साझा सहकार्य गर्न उपयुक्त हुन्छ । सबै दलहरूबीच तालमेल हुनु उपयुक्त हुन्छ भन्ने हो ।’