काठमाण्डु – राष्ट्रिय जनमोर्चा गण्डकी प्रदेशका पदमुक्त सांसद कृष्ण थापा फेरी सर्वोच्च अदालत पुगेका छन् । दोस्रो पटक पदमुक्त भएका थापाको रिट न्यायाधीश सपना मल्ल प्रधानको इजलाशमा चढेको छ ।
विपक्षी गठबन्धनबाट मुख्यमन्त्रीका उम्मेदवार बनेका कृष्णचन्द्र नेपाली पोखरेललाई सहयोग नगरेको भन्दै पार्टीले जेठ २८ गते थापालाई दोस्रोपटक पदमुक्त गरेको थियो । पहिलोपटकको पदमुक्त निर्णय कार्यान्वयनमा सर्वोच्चले अन्तरिम आदेशमार्फत रोक लगाएर पुनर्वहाली गरेको थियो । दोस्रोपटक पदमुक्त गर्ने सभामुख नेत्रनाथ अधिकारीको निर्णयविरुद्ध थापाले आइतवार गण्डकीका सभामुख, प्रदेशसभा सचिवालयलाई विपक्षी बनाई रिट दायर गरेका थिए ।
थापाको तर्फबाट ५ जना कानुन व्यवसायीले बहस गर्ने बताइएको छ । गण्डकी प्रदेश बाग्लुङ जिल्ला निर्वाचन क्षेत्र नं. २ बाट प्रदेशसभा सदस्य पदमा निर्वाचित थापालाई यसअघि तत्कालीन विपक्षी गठबन्धनलाई समर्थन नगरेको भन्दै कारवाही गरिएको थियो । कारवाहीको प्रक्रिया नमिलेको भन्दै सर्वोच्चले पुनर्वहाली गरेको थियो ।




प्रतिक्रिया