काठमाण्डु – सर्वोच्च अदालतले राष्ट्रिय जनमोर्चा गण्डकी प्रदेशका सांसद कृष्ण थापाको मुद्दामा कारण देखाउ आदेश जारी गरेको छ ।
न्यायाधीश सपना मल्ल प्रधानको इजलाशले सांसद थापाले पुनर्बहालीको माग गर्दै दिएको रिट निवेदनमा लिखित जवाफ मगाउन आदेश जारी गरेको हो ।
अदालतले विपक्षीका नाममा लिखित जवाफ बुझाउन आदेश जारी गरेको छ । साथै अन्तरिम आदेशका लागि दुबै पक्षलाई छलफलमा बोलाइएको छ ।
विपक्षी गठबन्धनबाट मुख्यमन्त्रीका उम्मेदवार बनेका कृष्णचन्द्र नेपाली पोखरेललाई सहयोग नगरेको भन्दै पार्टीले जेठ २८ गते थापालाई दोस्रोपटक पदमुक्त गरेको थियो । पहिलोपटकको पदमुक्त निर्णय कार्यान्वयनमा सर्वोच्चले अन्तरिम आदेशमार्फत रोक लगाएर पुनर्वहाली गरेको थियो ।
थापाले आइतवार गण्डकीका सभामुख नेत्रनाथ अधिकारी, प्रदेशसभा सचिवालयलाई विपक्षी बनाई रिट दायर गरेका थिए ।
गण्डकी प्रदेश बाग्लुङ जिल्ला निर्वाचन क्षेत्र नं. २ बाट प्रदेशसभा सदस्य पदमा निर्वाचित थापालाई यसअघि तत्कालीन विपक्षी गठबन्धनलाई समर्थन नगरेको भन्दै कारवाही गरिएको थियो । कारवाहीको प्रक्रिया नमिलेको भन्दै सर्वोच्चले पुनर्वहाली गरेको थियो ।




प्रतिक्रिया