जनकपुरधाम – मधेश प्रदेश सरकारमा सहभागी सत्ता साझेदार दलहरूले वर्तमान मुख्यमन्त्री कृष्णप्रसाद यादवको नेतृत्वमा रहेको सरकारलाई नै निरन्तरता दिने गरी समर्थन गर्ने निर्णय गरेका छन् ।
सोमबार जनकपुरधाममा बसेको सत्तापक्षीय गठबन्धनका शीर्ष नेताहरूको बैठकले मुख्यमन्त्री यादवलाई समर्थन गर्दै यथाशीघ्र विश्वासको मत लिने सहमति गरेको हो ।
बैठकपछि जारी गरिएको सहमति पत्रमा नेपाली कांग्रेसका मधेश प्रदेश संसदीय दलका नेता एवं मुख्यमन्त्री कृष्णप्रसाद यादव, जनता समाजवादी पार्टी (जसपा) नेपालका संसदीय दलका नेता सरोजकुमार यादव, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका नेता युवराज भट्टराईले हस्ताक्षर गरेका छन् ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका संसदीय दलका नेता जयनुल राइन र लोसपाकै प्रतिनिधि रानी शर्मा तिवारीले पनि वर्तमान सरकारलाई नै निरन्तरता दिने निर्णयमा समर्थन जनाएका छन् ।
मधेश प्रदेशमा पछिल्लो समय विकसित राजनीतिक घटनाक्रम र सत्ता समीकरणका विषयमा चलिरहेका अड्कलबाजीबिच सत्ता साझेदार प्रमुख ४ दलहरूले वर्तमान नेतृत्वकै पक्षमा उभिने स्पष्ट पारेका छन् । सहमति अनुसार मुख्यमन्त्री यादवले अब छिट्टै प्रदेश सभामा विश्वासको मत लिनेछन् ।





प्रतिक्रिया