काठमाण्डु – अर्थ मन्त्रालयका राजस्वसचिव कृष्णहरी पुस्कर विदामा बसेका छन् । बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई अर्थ मन्त्रालयमा प्रवेश गराएको भन्दै अर्थमन्त्री जनार्दन शर्मा विवादमा तानिएपछि राजस्वसचिव कृष्णहरी १५ दिनको लागि बिदामा बसेका हुन् ।
बिदा स्वीकृत भएर उनी अष्ट्रीया पुगिसकेका छन् । यस्तै अर्थसचिव मधु कुमार मरासिनी पनि बिदामा बसेका छन् ।उनले बुधबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री जनार्दन शर्मा र मुख्यसचिव शंकरदास वैरागीलाई भेटेर बिदामा बस्ने जानकारी गराएका हुन् । अर्थमन्त्री शर्माले पदबाट राजीनामा नदिएसम्म आफू मन्त्रालय नफर्किने पनि उनले घोषणा गरेका छन् ।
बजेट प्रस्तुत गर्नु अघिल्लो रात (जेठ १४) अनधिकृत व्यक्तिलाई अर्थ मन्त्रालयमा प्रवेश गराई करका दर हेरफेर गरेर बजेट निर्माण गरेको विषयमा अर्थमन्त्री शर्माको निरन्तर आलोचना भइरहेको छ । करको दर हेरफेर गर्न राजस्व प्रशासनका पूर्वकर्मचारी रघुनाथ घिमिरेलाई मन्त्री शर्मालेमन्त्रालयमा प्रवेश गराएको आरोप छ ।
त्यससँग सम्बन्धित प्रमाण (सीसीटीभी फुटेज) नै नष्ट भइसकेको सूचना अर्थ मन्त्रालयको योजना, अनुगमन तथा मूल्यांकन महाशाखाबाटै आइतबार आएपछि शर्मामाथि आफैं प्रमाण मेटाउनतिर लागेको थप आरोप लागेको छ ।




प्रतिक्रिया