महानगरवासीलाई निःशुल्क रगत सुविधा, रेडक्रस सोसाइटीसँग सम्झौता

महानगरवासीलाई निःशुल्क रगत सुविधा, रेडक्रस सोसाइटीसँग सम्झौता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – काठमाण्डु महानगरवासीलाई निःशुल्क रगत र रक्त तत्व उपलब्ध गराउन आज सोमबार काठमाण्डु महानगरपालिकाले नेपाल रेडक्रस सोसाइटीसँग सम्झौता गरेको छ ।

प्रमुख बालेन्द्र शाह ‘बालेन’ र उपप्रमुख सुनिता डंगोलको रोहवरमा महानगरपालिकाका तर्फबाट स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेल र नेपाल रेडक्रस सोसाइटीका तर्फबाट उपमहामन्त्री मनोजकुमार थापाले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

महानगरमा यसअघि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन भइरहेको छ । स्वास्थ्य सेवालाई सहज र पहुँचयुक्त बनाउन रगत र रक्त तत्व निःशुल्क उपलब्ध गराउन लागिएको छ ।

सम्झौतापछि संक्षिप्त प्रतिक्रिया दिँदै महानगरकी उपप्रमुख सुनिता डंगोलले रगत प्राप्त गर्न कसैलाई फोन गराउनुपर्ने, सिफारिस गराउनु नपर्ने गरी काम गर्नुपर्ने बताइन् । ‘नियमित रक्तदान कार्यक्रम र संकलित रगतको उचित व्यवस्थापनबाट अभाव कम गराउन सकिन्छ । यसबेला कसैलाई सिफारिस गर्नुपर्ने स्थिति हुँदैन,’ उनले भनिन्, ‘महानगरवासीबाट थालिएको निःशुल्क रगत र रक्त तत्व उपलब्ध गराउने कार्यक्रमको प्रभाव हेरेर विस्तार गरिनेछ ।’

जनस्वास्थ्य विभागका प्रमुख पौडेलका अनुसार महानगरवासीलाई उपलब्ध गराइने रगतको व्यवस्थापनका लागि रक्त सञ्चार सेवालाई रकम उपलब्ध गराइनेछ । प्रतियुनिट १ हजार १६० रुपैयाँ र क्रस म्याच गराउनु परे थप २०० रुपैयाँ उपलब्ध गराइनेछ ।

सम्झौतामा महानगरका वडाबाट रक्तदान कार्यक्रम आयोजना र अन्य रक्तदानका कार्यक्रममा खाजाबापत प्रत्येक रक्तदातालाई २०० रुपैयाँ उपलब्ध गराउने बुँदा राखिएको छ । रेडक्रस सोसाइटीका अध्यक्ष प्रा. सुदर्शनप्रसाद नेपालले भने, ‘रक्त व्यवस्थापनमा महानगरपालिकाले लिएको नेतृत्वबाट ठूलो सघाउ पुग्नेछ ।’

सम्झौता बमोजिम महानगरपालिकाले पहिलो चरणमा ३ लाख रुपैयाँ उपलब्ध गराउनेछ । केन्द्रीय रक्त सञ्चार सेवाले हरेक ३ महिनामा महानगरपालिकामा खर्च विवरण पठाउनेछ । निकासा गरिएको ८० प्रतिशत रकम सकिएपछि सञ्चारले प्रतिवेदन पेश गर्नेछ । प्रतिवेदनका आधारमा महानगरपालिकाले थप निकासा दिनेछ ।

बागमती प्रदेशले महानगरपालिका भित्रका ५ वटा अस्पतालहरू (परोपकार स्त्री तथा प्रसुति अस्पताल, कान्ति बाल अस्पताल, त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल र सहिद गंगालाल हृदय केन्द्र) मा बागमती प्रदेशका बिरामीले उपचार गराउँदा चाहिने रगत र रक्त तत्वको खर्च व्यहार्न सम्झौता गरिसकेको छ ।