काठमाडौंमा चिसो बढ्यो,न्यूनतम तापक्रम ४.५ डिग्री सेल्सियस

काठमाडौंमा चिसो बढ्यो,न्यूनतम तापक्रम ४.५ डिग्री सेल्सियस

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – देशभरको तापक्रम घट्नेक्रममा रहेकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन जल तथा मौसम  पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

महाशाखाका अनुसार काठमाडौँ उपत्यकासहित देशभरको तापक्रम घटेर चिसो बढेको छ । आज काठमाडौँको न्यूनतम तापक्रम चार दशमलव पाँच र अधिकतम तापक्रम १९ डिग्रीसेल्सियस रहेको छ । पछिल्लो तीनचार दिनयता काठमाडौँको न्यूनतम तापक्रम चार देखि पाँच र अधिकतम तापक्रम १७ देखि १९ डिग्रीसेल्सियसको हाराहारी रहेको छ । तापक्रम घटेकाले काठमाडौँमा अत्यधिक चिसो बढेको छ । दिउँसो घाम लागेपनि बिहान र बेलुका बढी जाडो महशुस गरिएको छ ।

सबैभन्दा कम जुम्लामा माइनस दुई दशमलव आठ र जोमसोममा माइनस तीन दशमलव पाँच तापक्रम मापन गरिएको महाशाले उल्लेख गरेको छ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । उक्त मौसमी प्रणालीका कारण अहिले आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ ।

दिउँसो देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ । रातिको समयमा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली तथा बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ ।

भोलि शनिबार प्रदेशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली तथा बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ ।