हनुमानढोकामा लिंगो ठड्याई सुरु भयो ईन्द्रजात्रा

हनुमानढोकामा लिंगो ठड्याई सुरु भयो ईन्द्रजात्रा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ – काठमाडौँ उपत्यकामा इन्द्रजात्रा सुरू भएको छ। नेवार समुदायले विशेष रुपमा मनाउने पर्व ईन्द्रजात्रा मंगलबारदेखि विधिवत रुपमा सुरु भएको हो । गुर्जु पल्टनले भक्तपुरबाट ल्याएको ३२ फिट अग्लो लिंगो मंगलबार बिहान हनुमानढोका दरबार स्क्वायर क्षेत्रमा ठड्याएपछि विधिवत रुपमा ८ दिने जात्रा सुरु भएको हो ।

भक्तपुरको चित्तपोलबाट ल्याइएको यस्सिं हुनमानढोकामा ठड्याएपछि इन्द्रजात्रा सुरू गर्ने चलन रहेको छ। यो यस्सिं गाड्ने चलन शाह वंशीय राजा प्रतापसिंह शाहको पालामा सुरू भएको मानिन्छ।

अब यो अवधिमा पुलुकिसी र लाखेनाचहरु देखाइन्छ । हप्तादिनसम्म कुमारी, गणेश र भैरवको रथ जात्रा पनि गरिन्छ । आठौँ दिन लिंगो ढालेपछि जात्रा समाप्त भएको मानिन्छ । लिंगो ठड्याएपछि ८ दिनसम्म घरका बालकदेखि वृद्धसम्मले दिवंगत पितृको सम्झनामा शान्तीपाठ, स्तोत्रपाठ तथा पूजाआजा गर्ने गरिन्छ ।

धार्मिक तथा सांस्कृतिक महत्व बोकेको इन्द्रजात्रामा वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा आराधनाका साथै जात्रा अवधिभर भक्कुनाच, महाकाली नाच, लाखेनाच, दशअवतार तथा देवराज इन्द्रको वाहन ऐरावत हात्तीको प्रतिकका रुपमा पुलुकिसी नाच नचाउने चलन छ। प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने इन्द्रजात्रा धुलिखेल र दोलखा लगायतका स्थानमा पनि मनाइन्छ।