काठमाण्डु – काठमाण्डु महानगरपालिका प्रमुखका लागि १६ जनाले उम्मेदवारी दिएका छन् । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले दिएको समयाबधीको पहिलो दिन काठमाण्डु महानगर प्रमुखको मेयरका लागि ठूला दलबाहेक १६ जनाले मनोनयन दर्ता गराएका हुन् । जसमा १२ पुरुष र ४ जना महिलाले उम्मेदवारी दिएका छन् ।
महानगर प्रमुखमा स्वतन्त्रतर्फ नौ जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत प्रेमकुमार श्रेष्ठले जानकारी दिए । त्यस्तै उपमेयर पदमा १७ जनाको उम्मेदवारी परेको छ । त्यस्तै वडाध्यक्ष २३ र वडासदस्य ७ जनाको उम्मेदवारी परेको छ ।
इसैगरी १३ वडाध्यक्ष र सात वडा सदस्यले समेत उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन आयोगले सोमबार अपराह्न ५ बजेसम्म उम्मेदवारले मनोनय गर्न सक्ने व्यवस्था गरेको छ । सोही अनुसार ठूला दलका प्रतिनिधिले सोमबार मात्र उम्मेदवारी दिने तयारी गरेका छन् ।
कामपाको प्रमुखमा राष्ट्रिय यथार्थवादी पार्टीका तर्फबाट आनन्दराज जोशी, विवेकशील साझा पार्टीबाट समीक्षा बास्कोटा, आधुनिक नेपाल समाजवादी पार्टीबाट सुरेशरत्न बज्राचार्य, नेपाल समावेशी पार्टीबाट रामबहादुर खड्का, मङ्गोल नेसनल अर्गनाइजेसनबाट सीता तामाङ, मौलिक जिरोकिलो पार्टीबाट मनोजराज आचार्य र सचेत नेपाल पार्टीबाट डिल्लीराज राजभण्डारीले उम्मेदवारी दिएका छन्।
यस्तै स्वतन्त्र रुपमा राजन कार्की, रवीकान्त मानन्धर, बालेन्द्र शाह, ज्ञानमाला तामाङ, सुमन सायमी, अमोट महर्जन, विपिनराज वैद्य, सूर्य थापा (श्रेष्ठ) र जेठा महर्जनको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।




प्रतिक्रिया