काठमाण्डु – आज साउनको पहिलो सोमबार । साउन महिना र सोमबार भगवान् शिवको बार भएकाले यस दिनमा शिवजीको पूजा आराधना एवम् दर्शन गर्नाले मनोकामना पूरा हुन्छ भन्ने धार्मिक विश्वास छ ।
त्यसैले साउन महिनामा विशेषगरि महिलाहरु महादेवको मन्दिर जाने गर्छन् । काठमाण्डु उपत्यकाका मन्दिरमा भक्तजनको भीड हुने भएका कारण विभिन्न स्थानमा सवारी आवगमन प्रभावित भएको छ ।
गौशाला क्षेत्रमा सबैभन्दा धेरै ट्राफिक जाम रहेको छ । गौशाला, गौरीघाट, पिंगलास्थान क्षेत्रमा सवारी साधन क्युमा चलिरहेका ट्राफिक कन्ट्रोल रुमले जनाएको छ ।
आज साउन महिनाको पहिलो सोमबार भएकाले गौशालास्थित पशुपतिनाथ मन्दिर दर्शन गर्न जानेहरूको घुइँचो बढेका कारण उक्त स्थानमा सवारी साधनको आवगमन प्रभावित भएको हो ।
हनुमानढोकास्थित सानो पशुपति र भक्तपुरको डोलेश्वर महादेवको मन्दिरमा पनि दर्शनार्थीको घुइँचो रहेको ट्राफिक कन्ट्रोल रुमले जानकारी दिएको छ । गौशाला, जयबागेश्वरी, पिंगलास्थान, वनकाली क्षेत्रबाहेक उपत्यकाको अन्य स्थानको सवारी आवागमन भने सामान्य रहेको छ ।
विभिन्न नाका प्रयोग गरी उपत्यका भित्रिने र बाहिरिने सवारी साधन पनि सामान्य तवरलेनै संचालन भइरहेका छन् ।




प्रतिक्रिया