कुखुरामा ‘फाउल पोक्स’ रोगको संक्रमण पुष्टि, मान्छेलाई कस्तो असर गर्छ

कुखुरामा ‘फाउल पोक्स’ रोगको संक्रमण पुष्टि, मान्छेलाई कस्तो असर गर्छ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– फार्ममा पालेका कुखुरामा ‘फाउल पोक्स’ रोगको संक्रमण देखिएको छ। कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका स्थानीय किसानले फार्ममा पालेका कुखुरामा उक्त भाइरल रोगको संक्रमण पुष्टि भएको हो ।

फाउल पोक्स भाइरस कुखुरा तथा अन्य पन्छीमा देखिने संक्रामक भाइरल रोग हो। यसलाई एभिन पोक्स पनि भनिन्छ । संक्रमित कुखुरामा कल्ली, ठुँडो, आँखाको वरिपरि तथा पखेटामा दाना, फोका वा पपडीजस्ता घाउ देखिने, खाना कम खाने, कमजोर हुने, तौल घट्ने तथा अण्डा उत्पादन घट्ने लक्षण देखापर्छन् ।

केही गम्भीर अवस्थामा मुख र घाँटीभित्र घाउ देखिँदा श्वास फेर्नसमेत समस्या हुने र कुखुराको मृत्युदर उच्च हुने गर्दछ ।

पशु चिकित्सकले सो रोग संक्रमण देखिएका फार्मका सञ्चालकलाई मल्टिभिटामिनयुक्त इम्युनो–बुस्टर औषधि प्रयोग गर्न सुझाव दिएका छन् ।

यस्ता औषधिले कुखुराको रोगप्रतिरोधात्मक क्षमता बढ्ने र कुखुराको मृत्युदर घटाउन मद्दत गर्ने पशुपन्छी शाखाका पशु चिकित्सक भोजराज पाण्डेयले जानकारी दिए।

अन्य कुखुरा फार्ममा उक्त रोगको संक्रमण फैलिन नदिन किसानलाई विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ।

फाउल पोक्स संक्रमित कुखुरासँगको प्रत्यक्ष सम्पर्क, फार्ममा प्रयोग हुने उपकरण तथा लामखुट्टे र अन्य कीरामार्फत फैलिने जनाइएको छ। पशुपन्छी शाखाले किसानलाई संक्रमित कुखुरालाई अन्य कुखुराबाट अलग राख्न, फार्मको सरसफाइमा ध्यान दिन, लामखुट्टे तथा कीरा नियन्त्रण गर्न र आवश्यक परेमा फाउल पोक्सविरुद्धको खोप लगाउन आग्रह गरेको छ।

साथै रोगको शंका लागेमा ढिला नगरी नजिकको पशु सेवा केन्द्रमा जानकारी गराउन अनुरोध गरिएको छ।

फाउल पोक्स मानिसमा नसर्ने रोग भएकाले मानव स्वास्थ्यमा प्रत्यक्ष असर नपर्ने बताइएको छ ।