काठमाण्डु– काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले काठमाडौँको थापाथली चोक नजिक मेलम्चीको पाइप फुटेका विषयमा छानबिन गर्ने भएको छ ।
थापाथलीमा आज के कारणले पाइप लाइन फुटेको पत्ता लगाउन छानबिन गरिने केयुकेएलका प्रमुख कार्यकारी निर्देशक अशोककुमार पौडेलले जानकारी दिए ।
उनले भने, “पाइप फुटेर क्षति भएको छ । के कारणले पाइप फुटेको हो । त्यसको एकीन कारण पत्ता लगाउन छानबिन गर्छौँ, छानबिनपश्चात पाइप मर्मत गरी पानी वितरण गरिने छ ।”
आज बिहानै पाइप फुट्दा उक्त क्षेत्रमा बाढी आएर जलमग्न हुनुका साथै सडकसमेत अवरुद्ध भएको थियो । थापाथली चोकबाट नर्भिक इन्टरनेसनल अस्पताल आउने सडकमा पाइपको लाइन फुट्दा पानी नजिकका घर र पसलमा पसेको बताइएको छ ।
यसअघि पनि बबरमहल क्षेत्रमा नेपाल विद्युत् प्राधिकरणको काम गर्ने बेलामा खानेपानीको मुख्य पाइप लाइन फुट्दा बाढी आएको थियो । त्यस क्षेत्रका सरकारी कार्यालय डुबान मा परेका थिए ।





प्रतिक्रिया