सेना र प्रहरीले मनाए कुकुर पूजा (तस्बिरहरू)

सेना र प्रहरीले मनाए कुकुर पूजा (तस्बिरहरू)

प्रहरीको 'घुङ्ग्रु' सर्वोत्कृष्ट कुकुर घोषित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली सेना र नेपाल प्रहरीले कुकुर तिहारको अवसरमा कुकुरहरूको विशेष पूजा गरेको छ । हिन्दु परम्पराअनुसार कात्तिक कृष्ण चतुर्दशीका दिन भैरवको वाहन मानिने कुकुरको पूजा गर्ने गरिन्छ।

मानिसको निकट साथी, आज्ञाकारी र रक्षकको रूपमा लिइने कुकुरको पूजा गर्ने प्रचलनअनुरूप सेना र प्रहरीले तालिम प्राप्त कुकुरहरूको पूजा गरेको हो।

अपराध नियन्त्रण तथा अनुसन्धानका लागि प्रयोग गरिने यी कुकुरहरूलाई माला लगाएर, मिष्टान्न खुवाएर तथा टीका लगाएर सम्मान गरिएको छ।

हिन्दू परम्पराअनुसार कुकुरलाई यमलोकका राजा यमराजको दूतका रुपमा पनि लिने गरिन्छ । कुकुरलाई आदेशपालक, कर्तव्यनिष्ठ, अनुशासित र सुरक्षा दिने जनावरका रुपमा लिइन्छ । आज घरघरमा कुकुरलाई माला लगाइ पूजा गरी मिठो खाना दिइएको छ ।

नेपाली सेनाको भक्तपुरको सानोठिमीस्थित भैरव वाहन गुल्ममा कुकुरलाई एकसाथ पूजा गरिएको छ ।

सो अवसरमा तालिमप्राप्त कुकुरबाट विभिन्न ‘सैनिक डग कला प्रदर्शनी’ तथा सांस्कृतिक प्रस्तुति गराइयो ।

उक्त कार्यक्रममा स्थानीय जनप्रतिनिधि, विभिन्न निकायका प्रमुख र नागरिक समाजका प्रतिनिधिको सहभागिता थियो । उक्त गुल्म २०६० साल वैशाख १ गते स्थापना भएको थियो ।

सो गुल्मले संयुक्त राष्ट्रसङ्घको शान्ति मिसनमा समेत कुकुर प्रयोग गर्दै आएको छ । हराएका हतियार फेला पार्न, बेपत्ता भएका नागरिकको खोजतलास, भूकम्प तथा प्राकृतिक प्रकोपमा हराएका वा पुरिएका व्यक्तिको खोजतलासमा पनि कुकुरको प्रयोगबाट सफलता मिल्दै आएको छ ।

घुङ्ग्रु’ भए सर्वोत्कृष्ट

लागुऔषध अनुसन्धानमा संलग्न घुङ्ग्रुलाई यस वर्षको सर्वोत्कृष्ट कुकुर घोषणा गरिएको छ । महाराजगन्जस्थित नेपाल प्रहरी केनाईन कार्यालयले ‘घुङ्ग्रु’लाई सर्वोत्कृष्ट घोषणा गर्दै पुरस्कृत गरेको छ ।

कार्यालय प्रमुख (एसपी) डा. रामचन्द्र सत्यालले सोमबार आयोजित कार्यक्रममा घुङ्ग्रुलाई अवार्ड प्रदान गरेका हुन् ।

हवाई मार्ग हुँदै काठमाण्डु आउने र विदेशतर्फ तस्करी गर्न लागिएको गाँजा लगायतका लागुऔषध अनुसन्धानमा घुङ्ग्रुले उत्कृष्टता हासिल गरेको केनाईन कार्यालयका प्रमुख सत्यालले बताए ।

घुङ्ग्रुले सुँघेर २०८१ चैत र २०८२ साउनमा विमानस्थलमा दुई वटा लागुऔषधको घटना पत्ता लगाएको थियो । जर्मन सेफर्ड जातको पोथी प्रहरी कुकुर घुङ्ग्रुको सङ्केतको आधारमा आरोपी पक्राउ परेका थिए ।

२०७४ चैतमा जन्मिएको घुङ्ग्रु लागुऔषध नियन्त्रण ब्युरो अन्तर्गत अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा कार्यरत छ ।

२०८० चैत ४ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्थित कार्गो कम्प्लेक्सको आयात तर्फको गोदाममा चेकजाँच गर्दा घुङ्ग्रुले वासिङ मेशिनमा लागुऔषध रहेको सङ्केत गरेको थियो । सो सङ्केतको आधारमा वासिङ मेशिन फुटाउँदा विदेशबाट आयात गरिएको २० केजी गाँजा भेटिएको थियो ।

२०८२ साउन ५ मा आगमनतर्फको लगेज चेकजाँच गर्दा बैंककबाट आएका भारतीय नागरिकले ल्याएको १४ केजी गाँजा भेटियो । सो गाँजा ल्याउने भारतीय नागरिक धर्मेश रसिकभाई चुनारा पक्राउ परेका थिए ।

त्यस्तै, २०८१ चैत २४ मा चिप्स, चकलेट र मासुको प्याकेटहरूमा लुकाएर ल्याइएको ९ केजी अमेरिकन गाँजा बरामद गर्न पनि घुङ्ग्रुले सघाएका थिए ।